०९ साउन २०८३, शनिबार
कमजोर प्रदर्शन

एनपीएलमा निष्प्रभावी बने सन्दीप, ५ खेलमा जम्मा १ विकेट

मंसिर २७, २०८१
काठमाडौं
एनपीएलमा निष्प्रभावी बने सन्दीप, ५ खेलमा जम्मा १ विकेट

विश्वभरका लीगमा तहल्का मच्चाएका लेग स्पीनर सन्दीप लामिछाने नेपाल आफैंले आयोजना गरेको फ्रेन्चाइज नेपाल प्रिमियर लीग (एनपीएल)मा निष्प्रभावी देखिएका छन् ।

काठमाडौंको कीर्तिपुरमा जारी एनपीएलमा सन्दीपले प्रभाव देखाउन नसकेका हुन् ।

भारतको आईपीएल, अमेरिकाको बिगब्यास, वेस्टइन्डिजको क्यारेबियन लीगसहितमा सन्दीपले लेग स्पीन बलिङमा दिग्गज खेलाडीलाई शिकार बनाएका थिए । तर, आफ्नै देशमा भएको एनपीएलमा भने सन्दीप विराटनगर किंग्सबाट ५ खेल खेलिसक्दा पनि प्रभावहीन बनेका छन् । नामै नचलेका स्पीनरहरू चलिरहँदा सन्दीपले भने एक विकेट मात्रै लिएका छन् । 

उनको कप्तानीमा रहेको विराटनगरले ५ मध्ये एउटा खेल मात्रै जित्दा २ अंकसहित पुछारमा छ । दुई खेल बाँकी हुँदा गणितीयरूपमा विराटनगरको शीर्ष ४ मा पुग्ने सम्भावना छ । तर, यो सम्भावनाका लागि बाँकी २ खेल राम्रो रनरेटमा जित्नुपर्नेछ । साथै, अरू टीमको नतिजा पनि आफूअनुकूल आउनुपर्नेछ । 

अब चितवन राइनोज र काठमाडौं गुर्खाजविरुद्ध विराटनगरले खेल्न बाँकी छ । पाँच खेलबाट चितवन ६ अंकसहित तेस्रो र काठमाडौं ५ खेलबाट ४ अंकसहित पाँचौ स्थानमा छ ।

लुम्बिनी लायन्स शीर्ष ४ को होडबाट बाहिरिँदा विराटनगर पनि उसलाई पछ्याउने दिशामा छ । बिहीबार भएको खेलमा विराटनगर सुपरओभारमा पोखरा एभेन्जर्ससँग पराजित हुन पुगेको थियो । 

यस्तो छ सन्दीपको बलिङ

एनपीएलमा जनकपुरका ललित राजवंशीले ६ खेलबाट सबैभन्दा बढी ११ विकेट लिएका छन् ।

अर्थात्, उनी एनपीएलमा धेरै विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् । ६ खेलमा २४ ओभर बलिङ गर्दा राजवंशीले २ मेडनसहित १२८ रन दिँदा ११ विकेट लिएका छन् । 

राजवंशीको एभरेज ११.६३ र इकोनोमी ५.३३ छ । उनीपछि १० विकेटसहित जनकपुरकै किशोर महतो दोस्रो स्थानमा छन् । त्यस्तै, ९ विकेट लिएका चितनवका सोहेल तनवीर, विराटनगरका प्रतिश जिसी, जनकपुरका हर्स ठाकेर र चितवनका रिजन ढकाल क्रमशः छन् । 

राजवंशी बढी विकेट लिनेमा पहिलो नम्बरमा हुँदा सन्दीप ६४ नम्बरमा छन् । अर्थात् एक विकेटमात्रै लिएका सन्दीप बलरको सूचीमा सबैभन्दा अन्तिममा छन् । 

सन्दीपले ५ म्याचमा एउटा मात्रै विकेट लिएका छन् । सन्दीपले तेस्रो खेलमा लुम्बिनीका साद विन जाफरको विकेट लिएका थिए । १५ रन बनाएका जाफरलाई सन्दीपले मार्टिन गप्टिलबाट क्याचआउट गराएका थिए ।

१९२ रनको लक्ष्य पछ्याएको यो खेल विराटनगरले २ विकेटले जितेको थियो । सन्दीपले विकेट नलिएका चारवटै खेलमा विराटनगर पराजित भएको छ । 

२० ओभरमा १४४ दिएका सन्दीको इकोनोमी ७.२० छ । १ विकेटमात्रै लिनेको सूचीमा पनि सन्दीप १५ औं नम्बरमा अर्थात् सबैभन्दा पुछारमा छन् । 

सन्दीपले ब्याटिङतर्फ ५ खेलमा २२ रन जोडेका छन् । 

बलात्कार मुद्दाको सामना गर्दा सन्दीप लामो समय मैदानबाहिर रहन पुगे । 

सफाइ पाएर नेपाली टीम र एनपीएलमा खेल्ने अवसर पाए पनि उनले पहिलाजस्तो प्रभाव जमाउन नसकेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्