०२ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

मंसिर २७, २०८१
काठमाडौं
सहकारी ठगी प्रकरणमा फरार जीबी राईको राहदानी रोक्का

सहकारीको रकम अपचलन प्रकरणमा फरार रहेका गितेन्द्र बाबु (जीबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको हो ।

प्रहरी सूचनामा मलेसियामा रहेका राईले राहदानी रोक्का भएसँगै अब अन्य देशमा यात्रा गर्न मिल्ने छैन । यस्तो अवस्थामा प्रहरीले मलेसिया नै पुगेर डिपोर्ट गरी राईलाई नेपाल ल्याउने बाटो खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

कास्कीका प्रहरीका प्रवक्ता, डीएसपी बसन्त कुमार शर्माले अनुसन्धान भइरहेको विषयमा आफूले प्रतिक्रिया दिन नमिल्ने लोकान्तरलाई बताए । ‘अनुसन्धान भइरहेको विषयमा मैले अहिले केही बोलिनँ’, उनले भने । 

यसअघि राईको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० मा राहदानी विभागलाई पत्र पठाएको थियो । तर, त्यतिबेला विभागले उनको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई जवाफी पत्र पठाएको थियो ।

राहदानी ऐन २०७६ र नियमावली २०७७ अदालतबाट लेखिआएको अवस्थामा बाहेक अन्यको हकमा राहदानी रद्द गर्न नमिल्ने दाबी विभागले गरेको थियो । 

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ । ऐनअनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवाद लगायतका केही आरोप लागेका व्यक्तिको हकमा अनुसन्धान अधिकारीले राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गर्नसक्ने व्यवस्था छ । 

त्यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्नसक्ने ऐनमा व्यवस्था छ ।

हाल जीबीलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाइएकाले राहदानी रोक्काको बाटो खुलेको एक प्रहरी अधिकृतले बताए । 

पाँचवटा सहकारीहरू क्रमशः काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा चितवन सहकारी, वीरगञ्जको सानोपाइला सहकारी र बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको अर्ब बढी रकम अपचलन भएको छ । जसको कनेक्सन राईसँग जोडिएको छ । 

उक्त अपचलनका मुख्य योजनाकार राई नै रहेको प्रहरी निष्कर्ष छ । राईविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन  र रेड नोटिस जारी भइसकेको छ । 

यही प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । अदालतले बिहीबार मात्र उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई फेरि पाँच दिनको म्याद थप दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्