
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो ।
००००
सहकारी ठगी गरेर फरार रहेका जिबी राईको पासपोर्ट रोक्का भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का भएको हो।
जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले राईको पासपोर्ट रोक्का भएको बताइन्।
००००
काठमाडौं उपत्यकाको बागमती तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्राचार गरेको छ ।
००००
युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा उतैबाट भारतको नयाँ दिल्ली जाने भएकी छन् । उनी १९ डिसेम्बरमा भारतको राजधानी नयाँ दिल्ली जान लागेकी हुन् ।
नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरूको दायित्वबारे ९० देशहरूको कार्यक्रममा भाग लिन गएकी मन्त्री देउवा उतैबाट दिल्ली जाने कार्यसूची तय भएको हो ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरे ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साथ छाडेपछि डा शेखर कोइराला आफ्नो समूहलाई बलियो बनाउने अभियानमा लागेका छन् । १४ औं महाधिवेशनमा आफ्नै टीमबाट महामन्त्री भएका थापा गुटबन्दीबाट माथि उठ्नुपर्ने अडानमा बसेका छन् । तर, शेखर अन्य नेतालाई बटुलेर समूहलाई थप बलियो बनाउने रणनीतिमा जुटेका छन् ।
यस क्रममा शेखरले संस्थापनलाई दबाब बढाउने कार्यक्रम गर्ने, दोस्रो तहका नेतालाई आफ्नै वरिपरि राख्ने र युवा नेतालाई समेट्ने कार्यक्रम बनाइरहेका छन् । अहिलेको पार्टीका सबै तहका कार्यसमितिको म्याद २०८२ मंसिरमा सकिँदैछ । अर्थात्, विधानतः चार वर्षे कार्यकाल सकिनुपूर्व अबको एक वर्षमा १५ औं महाधिवेशन गर्नैपर्छ ।
००००
साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा छुटेका दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिएको घटनामा ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
००००
पहिलो पटक भारतबाट पाइप लाइनमार्फत नेपालमा मट्टितेल ल्याइएको छ । बुधबार मोतिहारी–अमलेखगञ्ज पाइप लाइनमार्फत भारतबाट पहिलोपटक मट्टीतेल नेपाल ल्याइएको हो ।
बुधबार साँझ साढे ६ बजे नेपालमा पहिलो पटक मट्टितेल ल्याइएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलन्कर आचार्यले जानकारी दिए ।
००००
नेपाल प्रिमियर लीग एनपीएलमा पाँचौं जीत दर्ता गर्दै जनकपुर बोल्ट्सले शीर्ष ४ मा स्थान पक्का गरेको छ ।
एक खेलअगावै जनकपुरले शीर्ष ४ मा स्थान पक्का गरेको हो । अंक तालिकाको शीर्ष स्थानमा पुगेको जनकपुर पहिलो क्वालिफायरका लागि छनोट हुने सम्भावना पनि बलियो बनेको ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयको बिहीबार कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहनेगरी काम गर्न निर्देशन दिए ।
००००
शेयर बजारमा बिहीबार दोहोरो अंकको पहिरो गएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ३३.४२ अंकले गिरावट आएको हो ।
००००
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविका लागि पछिल्लो पटक थपिएको ४ दिनको म्याद सकिएपछि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
यसैबीच लामिछानेले ‘आफूलाई थुन्दा कुन प्रमाण लोप हुन्छ’ भन्दै प्रश्न गरेका छन् ।
म्याद थपका लागि बिहीबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका रविले न्यायाधीश चन्द्रकान्त पौडेलको इजलाशमा आफूलाई भित्र राख्दा कुन प्रमाण लोप हुन्छ भन्दै प्रश्न गरेका हुन् । ‘मलाई भित्र नराख्दा कुन प्रमाण लोप हुन्छ ? त्यति भन्दिनुस् श्रीमान,’ इजशालमा उनले भने ।
योजनाकारले बनाएको सबै कथा मध्यान्हसम्म मिलेको उनले बताए । ‘मेरो मुद्दामा अदालत अहिलेसम्म साक्षी भएर बस्यो । सधैं पीडितले दोषीलाई फेरि अदालतमा देखौँला भन्थे, मलाई चाहिँ योजनाकारले यसो भने । योजनाकारले बनाएको सबै कथा मध्यान्हसम्म मिलेको छ श्रीमान् ! अब पछि के हुन्छ थाहा छैन ।’, उनले भने ।
००००
प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सुशोभन गरेकी हुन् ।