
तत्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवस मनाइँदैछ ।
आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।
यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।
विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरूआत गरेका थिए ।
नेपाल तरुण दलको कार्यक्रममा सहभागी तत्कालीन प्रधानमन्त्री कोइरालालगायत नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायत नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो ।
सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन्’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।
पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।