
‘लगानी लुम्बिनीमा समृद्धि देशमा’ भन्ने नाराका साथ बुटवलमा यही पुस ३ गतेदेखि औद्योगिक व्यापार मेला हुने भएको छ ।
बुटवल उद्योग वाणिज्य संघले गर्न लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । लुम्बिनी प्रदेशको उद्योग तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी झण्डै ५०० स्टल राखिने मेलामा ५ लाख दर्शक र १५ करोडको कारोबारको अपेक्षा गरिएको छ । १६ दिनसम्म चल्ने मेलामा घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शन, कृषि तथा व्यावसायीकरण तथा अधुनिकीकरणका लागि प्रविधिको प्रदर्शन, उद्योग व्यापार नवप्रवर्द्धन तथा उद्यमशीलता, पर्यटन र कृषि क्षेत्रका नीतिगत सुधारका लागि गोष्ठी पनि सञ्चालन हुनेछन् ।
मेलामा प्रवेशका लागि ७० रूपैयाँ टिकटको व्यवस्था गरिएको छ भने फरक क्षमता भएका र जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघको २४औं संस्करणको औद्योगिक व्यापार मेला हो ।
औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यावसायीकरणका लागि विशेष महत्त्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसीजी (फूड एण्ड वेभरेज), अटोमोबाइल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलिन रहनेछन् ।
मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगितिक कार्यक्रम हुनेछन् ।
मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरू निरन्तर खटिएको कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्य-व्यङ्ग्य प्रतियोगिता, हास्यव्यंग्य, ब्यूटी शो र टिकटक प्रतियोगिता लगायतका प्रतियोगिता गरिने छ ।
त्यसैगरी, ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईंले जानकारी दिए ।