
मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक जना महिलालाई हातमा ढोगिरहेको तस्वीर सार्वजनिक गरे । सामाजिक सञ्जाल एक्समार्फत् तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले ती महिलाका बारेमा समेत उल्लेख गरेका छन् । आखिर को हुन् ती महिला ?
उनी हुन् वातावरणविद् तथा पद्म पुरस्कार विजेता कर्नाटककी तुलसी गौडा । जसको सोमबार निधन भयो । प्रधानमन्त्री मोदीले गौडाको निधनमा शोक व्यक्त गर्दै कुनैबेला उनीसँग आशीर्वाद लिँदै तस्वीर सार्वजनिक गरेका हुन् ।
गौडाले आफ्नो सम्पूर्ण जीवन प्रकृतिको संरक्षणका लागि समर्पित गरेकी थिइन् । उनले हजारौं बिरुवा रोपिन् र वातावरण जोगाउन महत्त्वपूर्ण योगदान दिइन्। जसबापत उनले प्रतिष्ठित पद्म पुरस्कार समेत जितिन् ।
‘वातावरण संरक्षणका लागि उहाँ सधैं मार्गदर्शक बन्नुहुनेछ । उहाँको कार्यले आउँदा पुस्ताहरूलाई हाम्रो पृथ्वीको संरक्षण गर्न प्रेरणा दिनेछ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजन र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।