
खोटाङ, २८ कात्तिक– खोटाङको हलेसीमा नेपाली कांग्रेसको उम्मेदवारका लागि भोट माग्न गएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताको भिरबाट लडेर मृत्यु भएको छ ।
कांग्रेसका लागि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य हलेसी तुवाचुङ नगरपालिका–११ घर भएका केशरमान विश्वकर्माको भिरबाट लडेर मृत्यु भएको हो । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि विश्वकर्मा कांग्रेसका उम्मेदवारका लागि भोट माग्न हिँडेका थिए ।
४९ वर्षीय विश्वकर्मा आइतवार काँग्रेसको टोलीसँग भोट माग्न गाउँ गएका थिए । भोट मागेर राति घर फर्किँदै गर्दा स्थानीय सैल्लेरी भिरबाट विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार विहानै घरबाट हिँडेका केशरमान सोमवारसम्म पनि घर नआउँदा खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।