
१० मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्डलले भारतको भ्रमण गरेको छ ।
गत मंसिर ५ देखि १५ गतेसम्म भएको भ्रमणले नेपाल-भारतको द्विपक्षीय सम्बन्धलाई घनिष्ठ बनाएको भारतीय दूतावासले जनाएको छ ।
दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली प्रतिनिधिमण्डल नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थान (एसएसआइएफएस)मा पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी बनेको जनाएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा र डिजिटल पब्लिक इन्फास्ट्रक्चर र रेस्पोन्सिबल एआईसहित थुप्रै विषयवस्तुलाई समेटेको थियो।
नेपाली प्रतिनिधिमण्डलले राष्ट्रपति भवन, दक्षिण - ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रिय आपदा प्रवर्द्धन प्राधिकरण र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण गरेको थियो ।
कार्यक्रमको समापनमा सहभागीहरूले भारतका विदेश सचिवसँग अन्तरक्रिया गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा समग्रमा प्रशिक्षणका बारेमा समीक्षा गरिएको थियो ।
प्रशिक्षण सत्रको दौरानमा राजदूत श्रीवास्तवले आगामी दिनमा लक्षित र उपयोगी कोर्सबारे योजना बनाउन भारतको भूमिकाबारे सहभागीहरूसँग जानकारी लिएका थिए ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काएको भारतीय दूतावासले जनाएको छ ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिहरू सहभागी थिए ।

