
धनगढीको सानो गल्ली। त्यही सानो गल्लीमा रहेको एक विपन्न परिवारको झुप्रोबाट शुरू भयो वीरेन्द्र परियारको जीवन कथा। र, आज यही जीवन कथा सुदूरपश्चिमका रंगीन भित्ताहरूमा चित्रित छ। साना आँसु र ठूला सपना बोकेका वीरेन्द्रको संघर्षले रंगीन संसार बनायो, जहाँ हरेक रङ्गले एउटा कथा बोल्छ।
वीरेन्द्र धनगढी उपमहानगरपालिका-१, पशुपति टोलका हुन्। २०३२ साल मंसिर १३ गते जन्मेका वीरेन्द्रको जीवनले विपन्नता र संघर्षका अनेक पाटा भोग्यो। सडक छेउमा मशिन राखेर कपडा सिलाउने उनका बुवाले पाँच जनाको परिवार पाल्न संघर्ष गरे। यही सडकछेउकै सिलाइमा वीरेन्द्र पनि बाल्यकालदेखि सघाउँथे। तर, वीरेन्द्रकी आमाले छोरालाई पढाउने इच्छा राखिन्।
आमाको आग्रहमा भाइ नाता पर्ने मोहन जैरुलाई गुहार्दै वीरेन्द्रलाई बाल मन्दिर विद्यालयमा भर्ना गरियो। उनका मामा जैरुले पछि उनलाई सरस्वती प्राथमिक विद्यालयमा भर्ना गरिदिए, जहाँ उनको नाम वीरबहादुरबाट वीरेन्द्र राखियो। उनी कक्षामा आफ्नो चकचके र टाठोबाठो स्वभावका कारण छिट्टै लोकप्रिय भए। केही समयपछि उनलाई भाषा पाठशाला (हालको धनगढी उच्च माध्यमिक विद्यालय) मा भर्ना गरियो, जहाँबाट उनले एसएलसी उत्तीर्ण गरे।

चित्रकलामा अब्बल
वीरेन्द्र कक्षामा दोस्रो अथवा तेस्रो भइरहन्थे। उनको लगाव भने चित्रकलाप्रति बढी थियो। कक्षामा कुनै चित्र बनाउनु पर्यो भने उनी दुरुस्तै बनाइदिन्थे। त्यति मात्रै होइन, विभिन्न पटक भएका चित्रकला प्रतियोगितामा प्रथम भइरहन्थे। चित्रकला र लेखनमा अब्बल उनी कहिले साथीको फोटो त कहिले शिक्षकशिक्षिकाकै फोटो बनाइदिन्थे। उनको त्यो कलाबाट मन्त्रमुग्ध भएका विद्यार्थी साथी र शिक्षकले हौसला दिइरहन्थे। कक्षा कोठामा पढाउने क्रममा शिक्षकहरूले पनि ब्ल्याकबोर्डमा चित्र बनाइदिन वीरेन्द्रलाई नै आग्रह गर्थे। वीरेन्द्रले कक्षा ५ बाटै चित्र कोर्न थालिसकेका थिए।

कक्षा सातमा पढ्ने क्रममा उनी अध्ययनमा मात्र केन्द्रित बनेनन्। सात कक्षा पढ्ने बेला उनी धनगढीका प्रसिद्ध कलाकार मुरारीलाल खड्कासँग प्रशिक्षण लिन थाले। मुरारीलालसँग उनको भेट भएपछि दैनिकी नै फेरियो। वीरेन्द्र बिहान स्कुल जान्थे, साँझ फर्किन्थे र सिधै शिवशक्ति आर्ट्समा पुग्थे। त्यहाँ गएर उनी चित्र र लेख्न सिक्न थाले।
नभन्दै ६ महिनामै उनले लेखनकलामा आफूलाई अब्बल सावित गरे। सिकाइका क्रममा उनका गुरु मुरारीलालले चिया समोसा खुवाउँथे। त्यसमै वीरेन्द्र सन्तुष्ट थिए। सिकिसकेपछि भने कहिले ५० त कहिले १०० रूपैयाँ पाउन थाले। स्कुल पढिरहेकै त्यो समयमा आफैंले १०० रूपैयाँसम्म कमाउन थालेपछि उनी दङ्ग थिए। त्यसपछि उनले आफ्नो पढाइ खर्च घरबाट माग्नु परेन।
उनले शिवशक्ति आर्ट्समा १२ वर्ष काम गरे। त्यही क्रममा नेपाल कमर्सियल आर्ट्स संघ दर्ता भएको थियो। केन्द्रको टोली जिल्ला अधिवेशनहरू गराउन कैलाली पुग्यो। त्यो समयमा हातले लेख्ने कलामा वीरबहादुर जतिको मान्छे धनगढीमा थिएन, उनका शुभचिन्तकहरूले वीरेन्द्रलाई जिल्लाको सचिव बनाउन प्रस्ताव गरे। त्यसपछि उनी कामदार मात्रै होइन आफ्नो क्षेत्रमा काम गर्ने साथीहरूको हकहितका लागि काम गर्ने संस्थाको सचिव भनेर जिम्मेवारी सम्हाल्न थाले।

समयले ल्याएको चुनौतीः हस्तकला संकटमा
त्यतिबेलासम्म लेखन कार्य सबै हातैले हुँदै थियो। स्कुलको बोर्ड, पसलको बोर्ड, विद्यार्थी भर्ना अभियान लगायत विभिन्न आवश्यक प्रचार सामग्रीहरू हातैले तयार हुन्थे। २०६४ सालतिर फ्लेक्स शुरू भएपछि हस्तलेखनकला भने धरापमा पर्न थाल्यो। हातले लेख्ने काम झण्डै ५० प्रतिशत भन्दा बढी कम भयो।
वीरेन्द्र सम्झिन्छन्,‘त्यतिबेला हातले लेखेर टन्न पैसा कमाइन्थ्यो। राति पनि काम गर्नुपर्थ्यो। चुनावजस्तो माहौल हुन्थ्यो सधैँ। कमाई राम्रो हुन्थ्यो। समयको परिवर्तनसँगै हस्तकला धरापमा पर्न थाल्यो। फ्लेक्सको जमाना आयो। समयअनुसार नै चल्नुपर्ने भयो।’
उनी लगायत केही साथीहरू मिलेर फ्लेक्स खरिद गरी काम गर्न थाले। साझेदारीमा व्यवसाय चलाउँदा त्यति सजिलो भने थिएन। जसले बढी लगानी गरेको थियो उसले बढी पैसा लग्थ्यो। वीरेन्द्रजस्ता आर्थिक रूपमा विपन्न अवस्थामा रहेकाहरूलाई भने त्यति कमाई भइरहेको थिएन।
डिजिटल फ्लेक्सको आगमनले हस्तलिखित बोर्ड र पेन्टिङ व्यवसाय संकटमा पर्यो। वीरेन्द्रले चुनौतीपूर्ण समयको सामना गर्नुपर्यो। समयअनुसार चल्नुपर्ने बाध्यताले उनलाई व्यवसाय साझेदारी गर्न बाध्य बनायो। तर, आर्थिक कमजोरीका कारण उनी साझेदारीबाट पनि खासै लाभ लिन सकेनन्।
अनि धनगढीका भित्ता रंग्याउन थाले
धनगढी उपमहानगरपालिकामा नगरप्रमुखका रूपमा गोपाल हमाल आइसकेपछि उनले विभिन्न अभियानहरू सञ्चालन गरे। त्यही क्रममा सुदूरपश्चिमको वेषभूषा, भाषा, संस्कृति रीतिरिवाज र यहाँबाट राज्यलाई योगदान पुर्याइरहेका खेलाडी, विज्ञ लगायतका व्यक्तित्वसँगै राज्यलाई योगदान पुर्याइसकेका अमर सहिदका फोटोसहितका आकर्षक दृश्यहरू धनगढीका भित्ता- भित्तामा बनाउने अभियान शुरू भयो।

यो कामका लागि सन ग्रुप आर्ट्सले जिम्मा पायो। त्यसका सञ्चालक सूर्यबहादुर गुरुङले यो कामका लागि वीरेन्द्रलाई जिम्मा दिए। अनि, उनै वीरेन्द्रको कलाले अहिले धनगढीका भित्ताहरू रंगिन बनिरहेका छन्।
उनलाई एक जना अर्का साथी राजेश परियारले सघाइरहेका छन्। हालसम्म उनले धनगढी क्षेत्रभित्र रहेका हसनपुर-मालपोत सडक क्षेत्र, वडा प्रहरी कार्यालय सडक क्षेत्र, डिभोटी हुँदै रङ्गशाला क्षेत्र, ऐश्वर्या विद्या निकेतन क्षेत्र, बोराडाँडी र राजपुर क्षेत्रमा खेलाडी, सहिद, विभिन्न मठमन्दिर, सुदूरपश्चिमका वेषभूषा, भाषा, संस्कृतिका साथै विभिन्न जनहितमा जारी सन्देशहरूले भित्तालाई सजाइरहेका छन्। जसले धनगढीलाई आकर्षक बनाइरहेको छ।
नगरप्रमुख गोपाल हमालले शुरू गरेको ‘धनगढी भित्ताभित्र अभियान’ले वीरेन्द्रको जीवनमा नयाँ मोड ल्यायो। स्थानीय संस्कृति, खेलाडी र राष्ट्रिय योगदानकर्ताका चित्रहरू भित्तामा उतार्न उनले जिम्मेवारी पाए। धनगढीका विभिन्न क्षेत्रमा उनले आकर्षक चित्रहरू बनाए, जसले शहरलाई झकिझकाउ बनाएको छ। यो कामले उनलाई आर्थिक सन्तुष्टि मात्र होइन, आफ्नो सिर्जनाको पुनर्जागरण पनि दियो।
३५ वर्षपछि मिलेको खुशी
वीरेन्द्रको बाल्यकालमा एउटै सपना थियो ‘आर्टिस्ट’ बन्ने। यसका लागि गरेको उनको संघर्ष र त्याग पनि कम छैन। कक्षा ७ मा पढ्दै गर्दा २०४६ साल साउन २५ गतेबाट उनी यो पेसामा आबद्ध भएका थिए। आर्टिस्ट बन्ने हुटहुटीले नै उनले आफ्नो पढाइ पनि प्रभावित पार्दै गए।
यो क्षेत्रमा काम गर्न थालेपछि उनको ध्यान पढाइभन्दा पनि लेखन तथा चित्र बनाउने कलामै केन्द्रित भयो। त्यसैकारण उनले तीन वर्ष लगाएर एसएलसी पास गरे। एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए।

‘ब्याचलर पढ्ने क्रममा मलाई आर्ट्स वा कमर्स के पढ्ने भनेर सरहरूले सोध्नुभयो। म खुसी हुँदै आर्ट्स भनेँ। मैले सोचेँ चित्र सम्बन्धी पढाइ होला। तर, पढाउँदा इतिहासका पो कुरा हुन थाले। मैले सरलाई सोधेँ- आर्ट्समा त चित्र कोर्ने, सुनौला अक्षरले लेख्ने काम हुँदैन र सर?’, विगतको रमाइलो किस्सा सम्झिँदै उनी भन्छन्, ‘सरले भन्नुभयो- त्यो आर्ट्स भनेको फरकै हो। यो त इतिहासका कुरा र अन्य क्षेत्रसँग सम्बन्धित आर्ट्स हो। तिमीले भनेको ललित कला अन्तर्गत पर्छ त्यो पढ्नका लागि काठमाडौं जानुपर्छ। काठमाडौं जान मेरो आर्थिक अवस्थाले सक्थेन। त्यसपछि मैले पढाइतिर मन लगाउन छोडेँ। मेरो पढाइ पनि त्यहीबाट सकियो। म निरन्तर यही पेसामा काम गर्न थालेँ।’
वीरेन्द्रले जुन कुराका लागि आफ्नो पढाइ छोडे अथवा आफ्नो भविष्यलाई नै प्रभावित पारे। तर, फ्लेक्सको जमाना आएपछि लेखन कला संकटमा पर्यो। उनी निकै निराश भए। तर, नगरप्रमुख हमालले भित्ता रंग्याउने काम गराउन थालेपछि भने उनी मक्ख छन्।
उनी भन्छन्, ‘म ३५ वर्षपछि कमाई र आफ्नो कामप्रति सन्तुष्ट छु। अहिले धनगढीका भित्ताहरू रंग्याउँदै छौं। मेयर साहबले भनेअनुसार हामीले ३०५ मात्रै काम गरेका छौं। अझै धेरै काम गर्न बाँकी छ। सायद गोपाल हमाल मेयर साहेबको कार्यकाल समयभित्र यो काम हुन्छ होला।’
कला संस्थान स्थापना गर्ने सपना
वीरेन्द्रले यो पेसामा आफ्नो झण्डै चार दशक समय व्यतीत गरेका छन्। तर, हालसम्म उनले आफ्नै नाममा दर्ता गरेर भने पसल चलाउन सकेका छैनन्।
‘आर्थिक अवस्था पनि मजबुत हुनुपर्छ व्यवसाय गर्नका लागि। मैले कमाई गरेको पैसाले घर खर्च चलाउन र छोराछोरीको अध्ययनमै ठीक्क भइरहेको छ’, वीरेन्द्र भन्छन्, ‘मैले एक जना भाइसँग साझेदारी गरेर व्यवसाय चलाइरहेको छु। त्यो हो उग्रतारा आर्ट्स। आफ्नै व्यवसाय भने गर्न सकिरहेको छैन।’

अहिले धनगढीका भित्ता रङ्गाइरहेका वीरेन्द्र अब यो कामपछि भने आर्ट्स इन्स्टिच्युट खोल्ने मनसायमा छन् । त्यसका लागि आन्तरिक तयारी समेत गरिसकेका छन्। झण्डै चार दशकदेखि यस क्षेत्रमा क्रियाशील वीरेन्द्रको सपना अब आर्ट्स इन्स्टिच्युट स्थापना गर्नु हो। उनी आर्थिक रूपमा कमजोरलाई निःशुल्क तालिम प्रदान गर्न चाहन्छन्।
सीप कहिले मर्दैन
दुरुस्तै स्केच बनाउनु अथवा आकर्षक शैलीमा लेख्नु त्यति सजिलो त होइन। तर, वीरेन्द्र भन्छन्, ‘यो सीप, यो पेसा कहिले सकिँदैन। फ्लेक्स आयो । तर, लगभग यो जान थालिसकेको छ। अहिले धेरैजसो अर्डरहरू हातले लेख्ने नै आउन थालेको छ। पेन्टिङको काम बढ्दै छ। यसमा निरन्तरता, मेहनत र त्याग भने आवश्यक छ। तपस्याको अर्को नाम पनि हो आर्ट्स।’
सीप कहिल्यै समाप्त नहुने उनी बताउँछन् । समयसँगै चुनौतीहरू आउँछन् । तर, मेहनतले तिनलाई पार गर्न सकिने उनको विश्वास छ । उनी युवा पुस्तालाई आफ्नो सीप र क्षमतामा विश्वास गर्न, परिश्रम गर्न र परिस्थितिलाई अवसरमा बदल्न प्रेरणा दिन्छन्।
धनगढीका भित्ताहरूमा रंगीन चित्रमार्फत उनले संघर्ष र सफलताका कथा लेखिरहेका छन्। वीरेन्द्र परियारको जीवनले देखाएको संघर्ष, त्याग र लगावले हरेकलाई प्रेरणा दिन्छ। उनी भित्ताहरूमा मात्र होइन, हरेक रंगमा एउटा सपना बाँचिरहेका छन्।
