
भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा बाबुछोरा मृत फेला परेका छन् ।
कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रवीण छन् ।
आइतबार रातिसँगै खाना खाएर सुतेका तीन बाबुछोरा मध्ये जेठा छोरा मिलन भने फरार छन् । प्रहरीले मिलनको खोजी गरिरहेको छ ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार शवमा केही घाउ र चोटपटक देखिएको छ ।
‘तीन बाबुछोरा सँगै सुत्नु, बिहान एउटा फरार हुनु, ढोकामा तालासमेत लगाउनु र शवमा चोटपटक देखिनुले हत्याको आशंका गरेका छौं, प्रहरीले अनुसन्धान गरिरहेको छ,’ एसएसपी घिमिरेले लोकान्तरसँग भने, ‘अहिले प्रहरीले मिलनको खोजी गरिरहेको छ ।’ शव पोस्टमार्टमको पछि केही तथ्य खुल्छ होला ।’