मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी छिन्।
मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आएकी उनले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेवी वाम’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुसी लागेको बताइन्।
'नवजात शिशुलाई जोगाउन हिटर बाल्नुपर्थ्यो । अब भने सुव्यवस्थित नवनिर्मित अस्पतालमा बेवी वाम उपकरण आएको छ,' गुरुङले भनिन्, 'यो उपकरण पाएपछि बच्चाहरूलाई चिसोबाट बचाउन सकिन्छ । साँघुरो कोठामा सुत्केरी गराउँथ्यौँ, अहिले भवन पाउँदा दङ्ग छौँ ।'
पुस ४ गते लमजुङको क्व्होलासोथार गाउँपालिका–मा स्थित मालिङ प्राथमिक अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको उद्घाटन गरेसँगै स्थानीयस्तरमा गुणस्तरीय सेवा पाउउनेमा स्थानीय हर्षित छन् ।
यहाँकै स्थानीय हुन् सिनियर अनमी गुरुङ । ३० वर्षदेखि सुत्केरी गराउँदै आएकी उनी सुविधासम्पन्न सुत्केरी कक्षसहित आवश्यक उपकरण र नवजात शिशुलाई न्यानो बनाउने उपकरण पाएपछि खुसीले गदगद भइन् ।
यसअघि जोखिमपूर्ण अवस्थामा सुत्केरी गराउनुपरेको भन्दै अब सेवा प्रदान गर्न सहज हुनुका साथै आमा र शिशुलाई प्रभावकारी सुरक्षा दिन सकिने धारणा राखिन् ।
गुरुङले अस्पतालको सुत्केरी कक्षमा रहेको बेवी वाम उपकरणलाई निकैबेर नियालिन् । नवजात शिशुका लागि आवश्यकपर्ने उक्त उपकरण पाउँदा उनले आफूले ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दा गाउँमा भोग्नुपरेको अनेक चुनौतीहरू सम्झँदै सहज स्वास्थ्य सेवा पाएकामा हर्षित भइन् ।
'तीस वर्षअघि गाउँमा सुडेनीले सुत्केरी गराउने चलन थियो । कुनै पनि घरमा सुत्केरी गराउँदा सुडेनीले नसकेका बेला मात्रै मलाई बोलाउने गर्थे,' गुरुङले भनिन्, 'चार/पाँच घण्टाको बाटो हिँडेर घरदैलोमै सेवाका लागि पुग्नुहुन्थ्यो । कसैको ‘नर्मल डेलिवरी’ सुत्केरी हुन्थ्यो । कसैको पिसाब रोकिन्थ्यो । कसैको साल अड्किने, कसैको लामो अवधिसम्म सुत्केरी हुन नसक्ने अवस्था आउँथ्यो । राम्रो र सहज सुत्केरी हुनेबेला कसैले सम्झिँदैनथे । जब सुत्केरीमा जटिल अवस्था आउँथ्यो, तबमात्रै आफूलाई सम्झिने गर्दथे ।'
स्वास्थ्यकर्मी भएर प्रदान गरेको सेवाको अनुभवमा सम्झिँदा अझै पनि शरीर जिरिङ हुने थुप्रै क्षण रहेका गुरुङले बताइन् । तीन दशकअघि एउटा घटना भयो, त्यो घटनाले उनलाई बारम्बार तर्साइरहन्छ ।
उनले अनुभव सुनाउँदै भनिन्, 'मङ्सिर महिना थियो, जाडो याम । समाज जातीयताका हिसाबले अहिले जस्तो उदार थिएन । दलित समुदायलाई देख्दा साइत जुर्दैन भन्ने मान्यता भएको समाजमा दलितकै घरमा गएर सुत्केरी सेवा प्रदान गर्नु चुनौतीपूर्ण थियो ।' आफू स्वास्थ्य सेवा प्रवेश गरेसँगै मानव सेवामा जीवन समर्पित गर्ने अठोट सँगालेर अघि बढेकाले जस्तासुकै चनौती पनि सामना गर्ने हिम्मत आउने उनको अनुभव छ ।
गुरुङले एउटा स्वास्थ्यकर्मीको नजरमा न जात हुन्छ न धर्म हुने भन्दै मानवता र सेवा मात्र हुने बताइन् । 'दलित समुदायकी सुत्केरी छट्पटाइरहनुभएको थियो । मैले थाहा पाउनेबित्तिकै उहाँको घरमा पुगेँ । दुई दिनको लामो ब्यथापछि ती सुत्केरीले छोरा जन्माउनुभयो । छोरा पाएको भन्दै परिवार खुसी हुन थाले । आफन्ती र छरछिमेकीलाई सुनाउनु थाले । सुत्केरी गराए पनि म चिन्तित थिएँ । जन्मिएको नवजात शिशु निसास्सिएको अवस्थामा थियो । उसले श्वास फेर्न सकिरहेको थिएन । शिशु न रुन्छ, न आवाज निकाल्छ । मन आतिएको थियो,' उदास हुँदै उनले सुनाइन् ।
परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर स्वास भर्न थालेको गुरुङले उल्लेख गरिन् । 'झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो । जब बच्चा रोयो परिवार सबै खुसीले हास्न थाले । आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुसीले बच्चासँगै डाँको छोडेर रुन थालेँ,' उनले भनिन् ।
बच्चा रुँदा मन थाम्नै नसकेर आफू पनि सँगै रोएको उनको अनुभव छ । आफ्नो प्राण भरेर जीवन दिएको बच्चा अहिले कक्षा ५ मा पढ्छ । गाउँकै स्कुलमा पढ्ने त्यो बालक देख्दा गुरुङको हृदय ममताले भरिन्छ । उनले भनिन्, 'उसको मुख हेर्छु । अनि मुस्कुराउँछु अनि भगवान्लाई धन्यवाद मात्रै भन्छु ।'
गुरुङले स्वास्थ्यकर्मीका रूपमा आम्दनी गरेको अमूल्य सम्पत्ति भनेको आमा र बच्चाको सुरक्षा रहेको बताइन् । सुत्केरी गराउने जिम्मेवारी आउँदा उनी चाडपर्वसमेत थाती राख्छिन् । एक दिनको दसैँमा उनी तीन दिन सुत्केरीको घरमा व्यस्त भइन् । दसैँ सकियो । गुरुङ सुत्केरी गराएर मात्रै घर फर्किइन् ।
सरकारले अस्पतालमा आएर सुत्केरी गराएबापत एक जना बराबर दुई सय ५५ दिने गरेको छ । गाउँमा सुत्केरी गराउन पुग्दा उनले गरीब परिवारका सुत्केरीलाई पैसा, लत्ताकपडा, खाना दिएर सघाइन् । 'सुत्केरी भइसकेपछि एउटा सफा कपटाको टालोसमेत किन्न नसक्नेहरू पनि हुनुहुन्छ । यस्तो बेला आफैँले लुगाको व्यवस्था गरिदिने गरेकी छु,' गुरुङले भनिन् । कहिलेकाहीँ सुत्केरी गराउन नसकिने अवस्थामा जिल्ला अस्पतालसम्म पुर्याउन आवश्यक रकमसमेत जुटाइदिने गरेको उनले बताए ।
'तुरुन्तै अस्पताल पठाउनु पर्छ भन्दा पैसा छैन भनेर रुन थाल्छन्,' गुरुङले भनिन्, 'यस्तो बेला कहिलेकाँही आफँैले, कहिले अरुसँग जुटाएर खर्च व्यवस्थापन गरिदिने गर्छु, अधिकांशले इमान्दार भएर फिर्ता पनि गरिदिनुहुन्छ ।'
गुरुङले सेवामा कहिल्यै हिसाबकिताब राख्दिनन् । उनलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसायभन्दा बढी समाजसेवी हो । अहिले पालिकामा व्यवस्थित भवनसहितको वर्थिङ सेन्टर खोलेपछि उनी खुसी हुन्छिन् । केही महिनाभित्रै पालिकामा एम्बुलेन्सको व्यवस्था हुँदैछ भन्ने खबरले गुरुङ थप उत्साहित हुन्छिन् ।
क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले नवनिर्मित स्वास्थ्य अस्पताल व्यवस्थित बनाउन एम्बुलेन्ससहितको आवश्यक सामग्री जुटाउने प्रक्रियामा पालिका लागेको बताए । उनले गुरुङजस्ता इमान्दार, मेहनती र आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मी स्वास्थ्य क्षेत्रका लागि सदैव आवश्यक पर्ने व्यक्ति हुन् भन्दै गुरुङको प्रशंसा पनि गरे ।