काठमाडौं, ४ माघ — संसारको महाशक्ति देशको राष्ट्रपति हुनु तनावको कुरा हो तर पदले दिने सुविधा पनि गजबका हुन्छन् । दिनदिनै भव्य भोजन गर्ने, राजसी बंगलामा बस्ने र राजोचित व्यवहार सबै अमेरिकी राष्ट्रपतिको भाग्यमा हुन्छ ।

अमेरिकाका राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले यी सबै सुविधा त भोग्ने नै छन् । त्यसका अलावा उनी भव्य काडिलाक गाडीमा पनि घुम्न पाउनेछन् ।
ट्रम्पको काडिलाक गाडी ओबामा चढेकोभन्दा अलिकति मात्र अपडेट गरिएको छ । नयाँ काडिलाक गाडीको मूल्य १५ लाख डलर छ र यसमा आठजनासम्म अटाउँछन् । यसमा ट्रम्पको रगतको नमुनाहरू बोतलमा राखिएको हुनेछ । दुर्घटना परिहाल्यो र राष्ट्रपतिलाई रगत चढाउनुप–यो भने यो जगेडा रगत काम लाग्छ ।
यो बुलेटप्रूफ गाडी हो । यसमा भएको सस्पेन्सनले यसलाई केही इन्च माथि जान सक्ने सुविधा दिएको छ । भिरालो डाँडामा गुडाउन सजिलो बनाउने सुविधा हो यो ।
यसका ढोका बाहिरबाट मात्र खोल्न मिल्छ किनकि ढोकाहरू असाध्यै गह्रौं छन् ।
गाडीमा शटगन र टियर ग्यास पनि राखिएका छन् । आन्दोलन भएर राष्ट्रपतिमाथि आक्रमण प्रयास भयो भने हमलावरलाई भगाउन ती चीज त्यहाँ राखिएका हुन् ।
क्याडिलाकमा सञ्चारका सबै अत्याधुनिक प्रविधिहरू छन् ।
राष्ट्रपतिलाई विमानमा पु–याउन अनि एक भवनबाट अर्को भवनमा लान यो गाडी प्रयोग हुने हो ।
एजेन्सी