२५ जेठ २०८३, सोमबार
कहालीलाग्दो बालकोट घटना

बुवा र भाइको हत्या गरेका मिलन– रूखको हाँगो भाँचिएर बाँचेपछि प्रहरीमा आत्मसमर्पण

पुस ९, २०८१
काठमाडौं
बुवा र भाइको हत्या गरेका मिलन– रूखको हाँगो भाँचिएर बाँचेपछि प्रहरीमा आत्मसमर्पण

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा भएको सोमबारको घटना झट्ट सुन्दा ‘फिल्मी कथा’जस्तै छ ।

एकै परिवारका २ जनाको हत्यामा सोही परिवारका सदस्यको संलग्नता देखिएको छ ।

सँगै खाना खाएर सुतेका बाबु र भाइको हत्या गरेर भागेको २४ घण्टा नबित्दै प्रहरीमा आत्मसमर्पण गरेका मिलन आचार्यले प्रहरीसमक्ष घटनाको बेलिविस्तार लगाएका छन् । 

मिलनले प्रहरीमा दिएको बयानअनुसार उनले सुब्बा र खरिदारमा ६ पटकसम्म लोकसेवाको परीक्षा दिएका थिए । तर, परीक्षामा सफल हुन सकेनन् ।

बाबु कुलप्रसाद आचार्य खोटाङमा हुलाक कार्यालयका कर्मचारी थिए । आम्दानी त्यति ठूलो थिएन । तर, पनि जसोतसो दुई छोरालाई भक्तपुरमा डेरामा राखेर पढाएका थिए ।

आर्थिक अभावले घेरिएका कुलप्रसादले पनि खोटाङमा आत्महत्याको प्रयास गरेका रहेछन् ।

मिलनको बयानअनुसार भाइ प्रवीण सधैंजसो राति १०/११ बजे कोठा आएर सुत्ने र बिहान १०/११ बजे मात्र उठ्ने दिनचर्याले उनी आजित भएका थिए ।

‘सानो व्यापार गर्छु भन्दा पैसा भएन । लोकसेवाको परीक्षामा पनि जहिल्यै असफल भएँ । भाइले खोजेर काम गरेन, राति अबेर सुत्ने र बिहान अबेर उठ्ने बानी ठीक लागेन,’ मिलनको बयान उद्धृत गर्दैै एक उच्च प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘धेरै तनाव भयो, बरु बाबु र भाइलाई मारेर आफू पनि आत्महत्या गरेर मर्छु भन्ने सोच मनमा पलायो र दुवैको हत्या गरें ।’

मिलनले प्रहरीमा भनेअनुसार उनले भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर आत्महत्या प्रयास पनि गरेका थिए । तर, रुखको हाँगो भाँचिएपछि मर्न नसकेको उनी बताउँछन् । 

आत्महत्याका लागि अर्को विकल्प खोज्ने क्रममा आत्मग्लानि भएपछि प्रहरीमा आएको उनले बताएका छन् ।

मिलनले प्रहरीमा भने, ‘बाबु र भाइको हत्या गरेर आफू फरार भएको समाचार छरपस्ट भएपछि मैले पनि झुन्डिएर आत्महत्याको प्रयास गरेको थिएँ, रुखको हाँगो भाँचियो, मर्न पनि सकिनँ, पछि आत्मग्लानि भएर आयो र प्रहरीमा आत्मसमर्पण गर्छु भनेर आएँ ।’ 

मिलनले डमबेल र लोहोरोले हिर्काएर बाबु र भाइको हत्या गरेका थिए । घटनास्थल हेरिसाध्ये थिएन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

‘हामीले सोधपुछ गरिरहेका छौं, उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरिसकेका छन्,’ भट्टराईले भने ।

भक्तपुर प्रहरीले मिलनविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान गर्ने भएको छ ।

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्