२० असार २०८३, शनिबार

एक महिनामा ३१ हजार जना धरहरा चढे, राजस्व कति उठ्यो ?

पुस १०, २०८१
काठमाडौं
एक महिनामा ३१ हजार जना धरहरा चढे, राजस्व कति उठ्यो ?

पुनर्निर्माणपछि ऐतिहासिक धरहरा शुल्कसहित सञ्चालन भएको एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्क स्वरूप ५५ लाख  राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्मा ५५ लाख राजस्व सङ्कलन भएको हो । 

कामु आयोजना निर्देशक प्रकाश अर्यालले हप्ताको एक दिन बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । '९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन,' उनले भने ।

निर्देशक अर्यालका अनुसार बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्थागरी ऐतिहासिक धरहराको अवलोकनको व्यवस्था गर्न सकिएको छैन । पछिल्लो समय छिमेकी मुलुक भारतबाट ऐतिहासिक धरहरा अवलोकन गर्न आउने गरेका छन् ।  
  
बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार पाँच सय बढीले धरहरा चढेर अवलोकन गर्ने अनुमान छ ।  धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । 
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रू एक हजार शुल्क छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क पनि स्वीकृत गर्ने निर्णय गरेको थियो । 

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार छ ।

salt training

कमेन्ट गर्नुहोस्