०९ असार २०८३, मंगलबार

लेटाङका किसान व्यवसायिक कफीखेतीतर्फ, तराई बसाइँ सर्ने क्रमसमेत रोकियो

पुस १०, २०८१
मोरङ
लेटाङका किसान व्यवसायिक कफीखेतीतर्फ, तराई बसाइँ सर्ने क्रमसमेत रोकियो

लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । 

लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा सदुपयोग गर्छन् । 

शिक्षक राले वार्षिक ४० हजार अराविका जातको कफीका बिरूवा तयार गर्छन् । 
नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन् । 

'चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् । यसपटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो,' राई भन्छन् । कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो ९० का दरले बिक्री हुने गरेको छ । फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो रु चार सय ५० देखि पाँच सय ६० सम्ममा बिक्री हुने गरेको छ ।' 

राज एग्रीकल्चर फार्म नै सञ्चालन गरेका राईले 'खाली  जमिनमा व्यावसायिक ढङ्गले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी हुने' बताए । 'वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ,' उनले भने । 

राईलेजस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेको लेटाङ–७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको अध्यक्ष राईले बताए ।
    
वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती शुरू भएको छ । यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउँछन् । 'यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ,' अध्यक्ष मगर भन्छन् । 

लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउँछन् । नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उनले  बताए । किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाए । रासस

salt training

कमेन्ट गर्नुहोस्