११ साउन २०८३, सोमबार

‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

पुस १०, २०८१
काठमाडौं
‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ संयुक्त रूपमा शर्मालाई प्रदान गरे । 

नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छिन् । 

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पु्र्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि पाँच वर्षदेखि आईसीटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । 

यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुन् । 

यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिइन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा शुरूआतदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।

‘सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्त्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु’, शर्माले भनिन्, ‘यो अवार्ड मेरो मात्र सम्मान होइन ।  समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरिरहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो ।’

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् ।  शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै, वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।

यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएका थिए । यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्य गरिरहेको फाउन्डेसनले जनाएको छ ।

‘महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरूको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुसी छौं । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४ की विजेता बन्दना शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरू सबैलाई बधाई छ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्