
गोरखाको धार्चे गाउँपालिकाले जथाभावी उत्खनन् तथा निर्माण कार्य बन्द गर्न माछीखोला जलविद्युत आयोजनालाई सचेत गराएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा निर्माण गरिने १६ मेगावाटको जलविद्युत आयोजनाले बिनाजानकारी वातावरणीय प्रभाव मूल्याकंनको मापदण्ड विपरीत जथाभावी उत्खनन् गरेको भन्दै गाउँपालिकाले काम बन्द गर्न भनेको हो ।
‘रेसे खोलामा अहिले जथाभावी डोजर लगाएको छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘हामी अनुगमन गर्न जाँदा पहिले माथिबाट डोजरले खनेर बाटो बनाएकोमा अहिले बाटो नै परिवर्तन गरिएको छ । अर्को बाटोमा डोजर चलाइएको छ। त्यसैले हामीले तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेका छौं ।
यसरी जथाभावी डोजर लगाउँदा माछीखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछीखोला बजारमा पहिरोको जोखिम बढेको उनले बताए ।
आर्थिक, भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारका सदस्यले आयोजनाबाट अहिलेसम्म राहत नपाएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । राहत उपलब्ध गराई पाउँ भनी पीडितले पालिकामा निवेदन दिएको समेत उनले बताए ।

जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ ।
‘वन मन्त्रालय लगायतका सम्बन्धित सबै निकायबाट स्वीकृति नलिई डोजर नचलाउनु भनेर पत्राचार समेत गरेका थियौं । तर, अटेर गर्नुभयो’, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘उहाँहरूले जथाभावी डोजर लगाउँदा साउन १३ गते घरवस्तीमा बाढी पस्यो । पाँच जनाको ज्यान समेत गयो ।’
उक्त पहिरोमा घाइते भई हाल उपचाररत दुई जनाले हाइड्रोबाट उपचार खर्च समेत नपाएको भनी पालिकामा निवदेन दिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
स्थानीय सरकार र सरोकारवालासँग आवश्यक छलफल र समन्वय गरेर मात्र अघि बढ्न पालिका अध्यक्ष गुरुङले सुझाव दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन तथा वन जंगलको संरक्षण, अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पालिकाले स्मरण गराएको छ।