२४ असार २०८३, बुधबार

व्यापारीले बगानबाटै उठाउँछन् सुन्तला, देउपुरमा पाँच करोड भित्रिने

पुस ११, २०८१
पर्वत
व्यापारीले बगानबाटै उठाउँछन् सुन्तला, देउपुरमा पाँच करोड भित्रिने

सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्न आउने गरेका छन् । 

मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाईँले जानकारी दिए ।

सुन्तला टिप्न व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागेजस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउँछन् । 'देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन् । केही नारायणगढ, काठमाडौं र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्,' उनले भने । 

यहाँका किसानमम्धये स्थानीय ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गर्छन् । उनले गत वर्ष पाँच लाखको सुन्तला बिक्री गरेका थिए । एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उनको भनाइ छ । 

यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । त्यसमध्ये भोजकुमारी चापागाईं, बाबुराम तिमिल्सिनासमेत एक हुन् । दैनिकजसो ट्रकहरू आएर सुन्तला टिपेर लैजाने गरेको स्थानीय प्रकाश चापागाईंले बताए । 

यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब पाँच करोडका सुन्तला बिक्री भएका थिए । यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन् । व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको कृषक दाताराम चापागाईंलेले बताए । 

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन् । यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ । 

शुरूमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रूपमा प्रत्येक परिवारले  दुई लाखदेखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईंले बताए । 'मकै, कोदो लगाउँदा रु २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाई हुन्छ,' उनले भने, 'अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषकहरू धेरै छन् ।'

शुरूमा केहीले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै त्यसको विस्तार भएको हो । आम्दानी राम्रै छ तर जलवायु परिवर्तनको असरसँगै सुन्तलामा रोगकीराको प्रकोप बढ्ने र रूखहरु सुक्दै जान थालेपछि कृषक चिन्तित छन् । यस वर्ष पनि औँसा किराको प्रकोपले केही सुन्तला झरेर नष्ट भएका स्थानीयको गुनासो छ । रासस

salt training

कमेन्ट गर्नुहोस्