
अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा रुसलाई दोष लगाइएको छ । ३८ यात्रुको ज्यान जाने गरेर भएको विमान दुर्घटना रुसी आक्रमणका कारण भएको आरोप लागेको हो ।
बुधबार कजाकिस्तानको अकताउ शहर नजिकै दुर्घटना हुँदा ३८ यात्रुको मृत्यु भएको थियो ।
वाल स्ट्रिट जर्नलले 'ओस्प्रे फ्लाइट सोलुसन्स'को हवाला दिँदै रुसले रकेट प्रहार गरेर विमान दुर्घटना बनाएको आरोप लगाएको थियो ।
'भग्नावशेषको भिडियो र दक्षिणपश्चिम रसियाको हवाई क्षेत्रको सुरक्षा स्थितिलाई हेर्दा जहाजलाई कुनै प्रकारको एन्टिएयरक्राफ्ट मिसाइलले प्रहार गरेको सम्भावनालाई संकेत गर्दछ,' ओस्प्रेका प्रमुख गुप्तचर अधिकारी म्याट बोरीले एक अन्तर्वार्तामा भनेका छन् ।
त्यस्तै युक्रेनी राष्ट्रिय सुरक्षा अधिकारी एन्ड्री कोभालेन्कोले पनि बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै दुर्घटनाका लागि 'रुसी वायु-रक्षा प्रणाली'लाई दोष दिएका छन् ।
अजरबैजानबाट रुसका लागि उडेको एम्ब्रेर जेटमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए । उक्त जहाज दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको र २९ जना घाइते भएका हुन् ।
जहाज आफ्नो निर्धारित मार्गबाट सयौं माइल टाढा क्यास्पियन सागर पारीको किनारमा दुर्घटनाग्रस्त भएको थियो ।
जहाजले किन समुद्र पार गर्यो भन्ने अझै स्पष्ट भएको छैन । तर दक्षिणी रूसमा युक्रेनले भारि ड्रोन हमला गरेको केही समयपछि यो दुर्घटना भएको थियो ।
ड्रोनका गतिविधिका कारण यस क्षेत्रमा यसअघि पनि विमानस्थलहरू बन्द हुने गरेका छन् ।
तर रुसले दुर्घटना आफूले गराएको हुनसक्ने आरोपको खण्डन गरेको छ । रुसको उड्डयन निगरानी संस्थाले चरासँग जहाज ठोकिएका कारण दुर्घटना भएको हुन सक्ने सम्भावना देखाएको छ ।
जहाज दुर्घटना हुँदै गर्दाको भिडियोमा जहाज आगो लाग्नुअघि तीव्र गतिमा तल झरेको र कालो धुवाँ उठेको देखाएको रोयटर्सले जनाएको छ ।
रुसको भ्रमणमा रहेका अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ दुर्घटनाको खबर सुनेपछि अजरबैजान फर्किएका छन् ।