
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुख, प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
विशेष अदालतले बिहीबार २५ हजार रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर आरोपपत्र दायर गरेको हो ।
बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २५ हजार रूपैयाँ घुस/रिसवत माग गरी लिएको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई २५ हजार घूस लिइसकेको अवस्थामा केही समय पहिले नियन्त्रणमा दिएको प्रवक्ता घिमिरले बताएका छन् ।