०८ साउन २०८३, शुक्रबार

इसेवामा दिनहुँजसो समस्या: प्रयोगकर्ताले लगाए सेवा अवरुद्ध, पैसा ठगी र हुण्डीको आरोप

पुस १२, २०८१
काठमाडौं
इसेवामा दिनहुँजसो समस्या: प्रयोगकर्ताले लगाए सेवा अवरुद्ध, पैसा ठगी र हुण्डीको आरोप

भुक्तानी सेवा सञ्चालक कम्पनी एफवनसफ्टअन्तर्गत रहेका मोबाइल बैंकिङ र इसेवा वालेटमा पछिल्लो ५ दिनमा ३ पटक भन्दा बढी समस्या देखिएको छ ।

पछिल्लो पटक बिहीवार साँझ आधा घण्टा भन्दा बढी  भुक्तानी नहुने, ब्यालेन्स नदेखाउने लगायतका समस्या देखिएको थियो । प्रयोगकर्ताले इसेवाको वालेटमा मात्र समस्या नभई एफवनसफ्ट अन्तर्गतका सबै मोबाइल बैंकिङ एपमा समस्या आएको गुनासो गरिरहेका छन् ।

यसअघि पुस ८ गते र ६ गते पनि प्रयोगकर्ताले यस्तै गुनासो गरे । गुनासो अत्याधिक भएपछि इसेवाले एक सूचनामार्फत प्राविधिक कठिनाइका कारण इसेवाका सेवाहरु केही समयका लागि अस्थायी रुपमा अवरुद्ध भएको जनाउँदै क्षमा मागेको थियो । 

पछिल्लो एक वर्षमा एफवनसफ्टको मोबाइल बैंकिङ एप र इसेवामा २ दर्जन भन्दा बढी पटक समस्या आएको छ । इसेवाको यस्तो कार्यले उपभोक्ताको आधारभूत हकको संरक्षण नभएको उपभोक्ता हकसम्बन्धी अभियान चलाइरहेका अभियन्ताहरू बताउँछन् ।

उसो त इसेवाको आधिकारिक फेसबुकमै प्रतिक्रिया दिँदै अधिकांश उपभोक्ताले इसेवाको सेवा झुर भएको बताउने गरेका छन् ।

बिहीवार साँझ इसेवाले आफूलाई अवरोधरहित सेवाका लागि फोन गर्नुहोस् भन्दै फेसबुकमा आफ्नो टोलफ्री नम्बर सार्वजनिक गरेको थियो । त्यसमा आएका अधिकांश प्रतिक्रिया हेर्दा इसेवाको सेवा कति नराम्रो रहेछ भन्ने प्रष्ट हुन्छ ।

साधुराम शर्मा नामका प्रयोगकर्ता लेख्छन्, 'मैले गत हप्ता नै इमेल पठाएको थिएँ, अहिलेसम्म रेस्पोन्स छैन ।'

'कुनै दिन इसेवाको भरमा नास्ता गरेर होटेलको भाडा माझ्न मात्र बाँकी छ,' अर्का प्रयोगकर्ता अखिल प्रजापतिले कटाक्ष गरेका छन् । त्यस्तै बिजय राई लेख्छन्, 'तेरो भर पर्दा कहिले काहीं लाजमर्दो अवस्थामा परिन्छ ।'

अर्जुन नामका अर्का प्रयोगकर्ता लेख्छन्, 'जिन्दगीमा अब इसेवा चलाउँदिन म ।'

रामजी नामका अर्का प्रयोगकर्ताले इसेवामा आफ्नो पैसा हराएको गुनासो गरे । 'पटक-पटक फोन इमेल गर्दा पनि रेस्पोन्स आउँदैन । ठगी मुद्दा हाल्ने तयारीमा छु,' उनको प्रतिक्रिया थियो ।

'म भाँडा माझ्दै छु यता होटेलमा, पैसा तिर्न नपाएर,' अर्का प्रयोगकर्ता काजी विशालले लेखेका छन् ।

जेनिश गुरुङले अब इसेवालाई विश्वास गर्न नसकिने बताएका छन् भने, मनु सशंकर नामका अर्का प्रयोगकर्ताले इसेवा अब छिट्टै टाट पल्टिँदै छ ।'

त्यस्तै उत्तम ढकाल भन्छन्, 'म जस्ता सामान्य इसेवा भन्दा अरू प्रयोग नगर्नेलाई अस्ति पेट्रोल हाल्ने बेला नचलेर २ घण्टा त्यत्तिकै बसियो, अनि थाहा पाएँ अलिकति क्यास बोक्नुपर्ने रहेछ भनेर ।'

उपभोक्ताले यस्ता हजारौं प्रतिक्रिया दिँदा पनि इसेवा मौन बसेको छ । पटक-पटक हुने सेवा अवरुद्धलाई प्राविधिक कारण देखाएर इसेवाले भित्र-भित्रै हुण्डी जस्तो गैर-कानूनी कारोवार गर्ने गरेको आरोप पनि प्रयोगकर्ताले लगाएका छन् ।

अनलाइन कारोबारमा उल्लेख्य उपस्थिति जनाएका इसेवालगायत मोबाइल वालेटको विश्वसनीयता पछिल्लो समय घट्दै गइरहेको छ । जतिबेला पनि ठप्प हुन सक्ने जोखिमसहित गोपनीयता र विश्वसनीयता दुवैमा कमजोर देखिएका मोबाइल वालेट प्रयोग गर्ने प्रयोगकर्ताहरू ढुक्क हुने स्थिति बन्न सकेको छैन ।

राष्ट्र बैंकमा इसेवाको गोपनीयता र विश्वसनीयतालाई लिएर दर्जनभन्दा बढी उजुरी परेका छन् । स्रोतका अनुसार एफवनसफ्टले बनाएको इसेवा, फोनपेलगायत अन्य कतिपय बैंकका वालेटमाथि राष्ट्र बैंकले विशेष निगरानी समेत गरिरहेको छ ।

९० प्रतिशत अनलाइन कारोबार आफू र भगिनी संस्थाहरूमार्फत भएको दाबी गर्ने एफवनसफ्ट पछिल्लो समय लापरवाह हुन थालेको फिनटेक (फाइनान्सियल टेक्नोलोजी)का विज्ञहरू बताउँछन् ।

राष्ट्र बैंकमा परेका उजुरीहरूले एफवनसफ्टमा गम्भीर समस्या देखिन थालेको पुष्टि गर्छन् । राष्ट्र बैंकका एक कर्मचारीले भने, 'जोखिमको अवस्था मोनिटर गर्दैछौं । उजुरीहरू आएका छन् र कतिपय उजुरीउपर कारबाही पनि भएका छन् । यसबारे हामीले कुनै कम्परमाइज नगरी एक्सन लिइरहेका छौं ।'

राजधानीका अधिकांश पेट्रोल पम्प, सानो कारोबार हुने होटल/रेस्टुरेन्ट र अन्य व्यवसायीहरूले पनि इसेवा लागायतका वालेटबाट पैसा ट्रान्सफर नहुने, भए पनि समय लाग्ने र विश्वसनीयता नहुने कारण देखाउँदै अनलाइनबाट पैसा लिन गाह्रो मान्ने गरेका छन् ।

इसेवा र फोनपेबाट बैंकमा पैसा पठाउँदा तत्काल नजाने, कतिपयको पछि फिर्ता हुनेजस्ता गुनासो इसेवाकै फेसबूक पेजमा कमेन्टको रूपमा समेत आउने गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा इसेवामै काम गर्ने एक इन्जिनियरले लोकान्तरसँग भने, 'कहिले–कहिले प्राविधिक समस्या आउने त सामान्य कुरा हो, तर पटक-पटक के कारणले भइरहेको छ, हामी पनि आश्चर्यमा परेका छौं ।'

उनले कसैको नियतले सेवा ठप्प पारिएकोतर्फ इंगित गर्न खोजे ।

इसेवा, फोन पे र एफवनसफ्टले बनाएका अधिकांश मोबाइल एपहरू बन्द हुने घटना नौलो होइन । त्यसअघि पनि हप्तामा कम्तीमा एकपटक समस्या देखिने गरेको एफवनसफ्टकै कर्मचारीहरू स्वीकार्छन् ।

पछिल्लो समय फोनपे नेटवर्कमा धेरै समस्या आउन थालेपछि बैंकहरूले पनि आफ्ना ग्राहकको सुरक्षा र गोपनीयतामा बढी ध्यान दिन थालेका छन् । अहिले केही वाणिज्य बैंकहरूले आफ्नै स्विच विकास गरिरहेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ यस्तो ठगीबाट जनता आजित भएको भन्दै यसबारे अध्ययन भइरहेको बताए ।

'इसेवाले विद्युतीय कारोवार ऐनको बर्खिलाप हो । ठगी मुद्दा पनि हो । हामीले यसबारे कानूनी अध्ययन गरिरहेका छौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्