
२० जुन १९९१ को साँझ क्याबिनेट सचिव नरेश चन्द्राले नवनियुक्त प्रधानमन्त्री पीवी नरसिंह रावसँग भेट गरे । अनि उनले ८ पेजको ‘टप सिक्रेट’ नोट प्रधानमन्त्री रावको हातमा थमाए । त्यस नोटमा प्रधानमन्त्रीले कुन कामलाई अति प्राथमिकतामा राख्ने भन्ने उल्लेख थियो । जब प्रधानमन्त्री रावले क्याबिनेट सचिवको नोट पढे, उनको पैतलामुनिबाट जमिन भासियो ।
रावको पहिलो टिप्पणी थियो- के भारतको आर्थिक हालत यति नाजुक छ ? क्याबिनेट सचिव नरेश चन्द्राको जवाफ थियो, ‘होइन सर, वास्तवमा यो भन्दा पनि ज्यादा ।’
भारतको विदेशी मुद्रा भण्डारको हालत यस्तो थियो कि, त्यो अगष्ट १९९० सम्म आउँदा मात्र ३ अर्ब ११ करोड डलरमा सीमित रह्यो । जनवरी १९९१ मा भारतसँग मात्र ८९ करोड डलरको विदेशी मुद्रा बाँकी थियो । सरल भाषामा भन्नुपर्दा भारतसँग मात्र २ हप्ताको आयातका लागि विदेशी मुद्रा बचेको थियो ।
यसको मुख्य कारण थियो, १९९० को खाडी युद्ध । जसले तेलको मूल्यमा तीन गुणा वृद्धि गर्यो । त्यसको दोस्रो कारण थियो, कुवेतमा इराक आक्रमणपछि भारतले आफ्ना हजारौं मजदुर फिर्ता ल्याउनु । पछि नतिजा यस्तो रह्यो कि, खाडीमा काम गर्ने भारतीय मजदुरहरूबाट प्राप्त विदेशी मुद्रा पूर्ण रूपमा रोकियो । त्यसैमाथि भारतको राजनीतिक अस्थिरता र मण्डल आयोगको सिफारिसविरुद्ध उर्लेको जनआक्रोशले अर्थव्यवस्था डुबाउन कुनै कसर बाँकी छोडिरहेका थिएनन् ।
त्यही समयमा गैरआवासीय भारतीयहरूले भारतीय बैंकहरूबाट आफ्नो बचत रकम फिर्ता लिन शुरू गरे । त्यसका अतिरिक्त भारतले ८० को दशकमा लिएको अल्पकालीन ऋणको ब्याजदर बढिसकेको थियो । अगष्ट १९९१ सम्म मुद्रास्फिति पनि बढेर १६.७ प्रतिशत भइसकेको थियो ।
खासमा प्रधानमन्त्रीको दौडमा नरसिंह रावलाई प्रणव मुखर्जीले साथ दिएका थिए । मुखर्जीलाई आश थियो कि, आफूलाई पुनः एकपटक अर्थमन्त्री बनाइनेछ । तर, नरसिंह रावको उद्देश्य अर्कै थियो । रावले आफ्ना मित्र इन्दिरा गान्धीका प्रधान सचिव पीसीअलेक्जेन्डरलाई इशारा गरेका थिए कि, उनी आफ्नो मन्त्रिमण्डलमा एक पेसेवर अर्थशास्त्रीलाई अर्थमन्त्रीका रूपमा राख्न चाहन्छन् । उनले रिजर्व बैंकका पूर्वगभर्नर आईजी पटेल र मनमोहन सिंहको नाम लिएका थिए ।
अलेक्जेन्डर मनमोहन सिंहको पक्षमा थिए । त्यसले उनलाई मनमोहन सिंहलाई मनाउने जिम्मेवारी दिइयो । पीसी अलेक्जेन्डरले आफ्नो आत्मकथा ‘थ्रू द कोरिडोर्स अफ पावर एन इनसाइड स्टोरी’मा लेखेका छन्– २० जुनमै मैले मनमोहन सिंहको घरमा फोन लगाएँ । उनका सहयोगीले मलाई सिंह युरोप गएको र आज राति अबेर फर्कने जानकारी गराए । पुनः २१ जुनको बिहान साढे पाँच बजे जब मैले सिंहलाई फोन गरें उनका सहयोगीले उनी मस्त निन्द्रामा सुतेको बताउँदै अहिले ब्यूँझाउन नसकिने जवाफ दिए । मैले निकै जोड गरेपछि सहयोगीले सिंहलाई ब्यूँझाइदिए र उनी फोन लाइनमा आए । मैले मनमोहन सिंहलाई भनें, ‘मलाई तपाईंसँग भेट गर्नु जरुरी छ । म केही मिनेटभित्रै तपाईंको घर पुग्छु ।’
जब म उनको घर पुगें, उनी फेरि सुतिसकेका थिए । म पुगेपछि उनलाई ब्यूँझाइयो । अनि मैले सिंहलाई नरसिंह रावको सन्देश दिएँ, कि प्रधानमन्त्री तिमीलाई अर्थमन्त्री बनाउन चाहन्छन् । उनले मलाई नै सोधे, ‘तपाईंको राय के छ ?’ मैले जवाफ दिएँ, ‘यदि म यस निर्णयको विपक्षमा हुन्थें भने यस्तो अस्वाभाविक समयमा तपाईंसँग भेट्न किन आउँथे ?’
रूपैयाँको अवमूल्यन
शपथ लिनु अघि नरसिंह रावले मनमोहन सिंहसँग भनेका थिए, ‘म तपाईंलाई काम गर्न पूर्ण स्वतन्त्रता दिने छु । यदि हाम्रो नीति सफल रह्यो भने हामी सबै श्रेय लिनेछौं । यदि हामी असफल भयौं भने तपाईंले जानु पर्ने छ ।’ प्रधानमन्त्री रावसामु पहिलो चुनौती आयो रूपैयाँ अवमूल्यनको ।
रावको सम्बन्ध त्यस पिढीसँग थियो, जसले १९६६ मा इन्दिरा गान्धीद्वारा गरिएको रूपैयाँको अवमूल्यन भारतका लागि समस्याको पहाड लिएर आयो भन्ने निष्कर्षमा थियो । रावले आफ्नो राजनीतिक जीवनमा कहिल्यै यो कल्पना गरेका थिएनन् कि २५ वर्षपछि आफैंले पनि इन्दिराको झैं मुद्रा अवमूल्यनको कठोर निर्णय लिनुपर्ने छ । मनमोहन सिंहले नरसिंह रावलाई आफ्नो हातले लेखेको अति गोप्य नोट पठाए, जसमा रूपैयाँ अवमूल्यनको सल्लाह दिइएको थियो । त्यसमा अवमूल्यन दुई चरणमा गर्नुपर्ने सुझाव समेत स्पष्ट थियो ।
जयराम रमेशले आफ्नो किताब ‘टु द व्रिंक एण्ड बैंक’मा लेखेका छन्– राष्ट्रपति बेंकटरमन त्यसकारण यस निर्णयको विपक्षमा थिए, किनकी उनको बुझाइमा अल्पमतको सरकारलाई यति ठूलो निर्णय लिने कुनै अधिकार छैन ।
यसका बाबजुद १ जुलाई १९९१ मा रूपैयाँको पहिलो अवमूल्यन गरियो । ४८ घण्टापछि रूपैयाँलाई दोस्रो पटक अवमूल्यन गरियो । ३ जुलाईको बिहान रावले सिंहलाई फोनमा भने ‘दोस्रो अवमूल्यन रोक्दिनुस् ।’ मनमोहनले रिजर्व बैंकका डेपुटी गभर्नर डाक्टर सि रंगराजनलाई बिहान साढे ९ बजे फोन गरे । रंगराजनले भने, ‘आधा घण्टा पहिले नै दोस्रो अवमूल्यन गरिसकियो ।’ मनमोहन सिंह भित्रभित्रै निकै खुशी भए । तर, उनले नरसिंह रावलाई यो खबर दिँदा देखावटी शैलीमा आफूलाई निकै पीडा भएको बताए ।
राव प्रधानमन्त्री बनेको दुई सातापछि दक्षिण मुम्बईमा रिजर्व बैंकको कोष्टबाट बन्द गाडीको लस्कर हिड्यो । त्यसको चारैतिर यति ठूलो सुरक्षा बन्दोबस्त गरिएको थियो मानौं कुनै सम्राट यस सवारी स्कर्टिङसहितको सुरक्षा घेरामा छ ।
विनय सितापतिले नरसिंह रावको जीवनी ‘हाफ लाइन हाऊ नरसिंह राव ट्रान्सफर्ड इण्डियामा लेखेका छन् –ती गाडीहरूमा २१ टन सुन भरिएको थियो । त्यो सुरक्षा स्कर्टिङ ३५ किमि टाढा सहार हवाइअड्डामा गएर रोकियो । जहाँ त्यो सुन लैजान हेभी लिफ्ट कार्गो एअरलाइन्सको विमान खडा थियो । त्यही कार्गोबाट यस सुनलाई लन्डन पुर्याएर बैंक अफ इंगल्यान्डको कोष्ठमा राखियो । त्यसको बदलामा राव सरकारलाई जुन डलर प्राप्त भयो । त्यही आधारमा भारतले लिएको ऋण भुक्तानमा समय थपको अनुमति प्राप्त भयो ।
औद्योगिक नीतिमा भारी बदलाव
२४ जुलाई १९९१ को त्यो दिन दिल्लीमा उखरमाउलो गर्मी थियो । मध्यान्ह १२ बजेर ५० मिनेटमा मनमोहन सिंहले बजेट पेश गर्नु भन्दा ४ घण्टाअघि उद्योग राज्यमन्त्री पीजे कुरियनले एउटा रुटिन वक्तव्य दिए । ‘सर, म सदनसमक्ष औद्योगिक नीतिमा एक वक्तव्य राख्छु ।’
औद्योगिक नीतिमा जुन प्रकारको आमूल परिवर्तन गरिएको थियो, त्यो हेर्दा लाग्थ्यो कि यस महत्त्वपूर्ण वक्तव्यलाई क्याबिनेट मन्त्रीले सदनमा पेश गरे हुने । तर, उद्योग मन्त्रालयको जिम्मेवारी हेरिरहेका प्रधानमन्त्री रावले आफूलाई त्यस वक्तव्यको स्वामित्वबाट टाढा राखे । त्यस नीतिको सबभन्दा महत्त्वपूर्ण वाक्य थियो ‘अबदेखि सबै उद्योगहरूमा लाइसेन्सिङको नियम समाप्त गरिएको छ । मात्र १८ उद्योगमा जसको विवरण संलग्न दिइएको छ, तिनीहरूको मात्रै लाइसेन्सिङको नियम जारी रहने छ ।’
दोस्रो परिवर्तन थियो, ठूला कम्पनीहरूप्रतिको एकाधिकार विरोधी प्रतिबन्धलाई सजिलो बनाउनु । तेस्रो क्रान्तिकारी परिवर्तन थियो, ३४ उद्योगमा विदेशी लगानीको सीमालाई ४० बाट बढाएर ५१ सम्म पुर्याउनु । सञ्जय वारुले आफ्नो पुस्तक ‘हाऊ पीवी नरसिंह राव मेड हिस्ट्री’मा लेखेका छन्- नेहरू र इन्दिरा गान्धीकाप्रति सम्मान प्रकट गर्ने र भारतको औद्योगिकीकरणमा उनको योगदानलाई स्मरणका बाबजुद नरसिंह रावले एकै झट्कामा समाजवादको नाममा खडा औद्योगिक नीतिलाई इतिहासको एउटा हिस्सा बनाइदिए ।’
कांग्रेसमा आफ्ना विरोधीहरूलाई चुप लगाउन औद्योगिक नीति परिवर्तनको नामाकरण ‘चेन्ज विद कन्टीन्युटी’ अर्थात निरन्तरतासँगै बदलाव । बजेटको शानदार प्रस्तुतिका कारण विरोधीहरूको त्यता ध्यानै जान सकेन । रावले योजना बनाएर मज्जाले आफ्नो निर्णय पूरा गरे ।
नीतिमा कलात्मक तख्ता पलट
सायद जिन्दगीमै पहिलो पटक नेहरू ज्याकेट लगाएका नीलो पगडी बाँधेका मनमोहन सिंहले आफ्नो भाषणको शुरूआतमै भने, ‘मैले यतिबेला राजीव गान्धीको आकर्षक अनि मुस्कानपूर्ण व्यक्तित्वलाई याद गरिरहेको छु ।’
जयराम रमेश आफ्नो किताबमा लेख्छन्– मनमोहनले आफ्नो पूरै बजेट भाषणका दौरान त्यस परिवारको नाम पटक–पटक लिए, जसको नीति र विचारधारालाई उनी आफ्नो बजेटका माध्यमद्वारा शीरैदेखि खारेज गरिरहेका थिए । मनमोहनले आफ्नो बजेटमा मलखादमा दिएको अनुदानलाई ४० प्रतिशत मात्र घटाएनन् बरु चिनी र एलपीजी ग्याँस सिलिन्डरको मूल्य पनि बढाइदिए । उनले आफ्नो भाषणको अन्त्य भिक्टर ह्युगोको जबर्जस्त पंक्तिद्वारा गरे । त्यस विचारलाई कसैले रोक्न सक्दैन जसको समय आइसकेको छ । एकै दिनमा नरसिंह राव र मनमोहन सिंह मिलेर लाइसेन्स राजका तीन स्तम्भ खासगरी सार्वजनिक क्षेत्रको एकाधिकार, निजी कारोबारको सीमितता र विश्व बजारमा पहुँचको कमिलाई ध्वस्त गरे ।
विनय सितापति लेख्छन्– नरसिंह रावले आफ्ना पछिल्ला अनुभवहरूबाट सिकिसकेका थिए कि, कुनै नयाँ काम गर्दा न धेरै उत्साह देखाउने न बढाइचढाइका साथ त्यसको श्रेय लिने । उनले आफैंले बनाएको औद्योगिक नीतिलाई सदनमा पेश गर्न इन्कार गरे । मनमोहन सिंहको बजेट भाषण क्रममा चुपचाप उनको छेउमा बसेका रावले स्वतन्त्रतापछि पहिलो पटक समाजवादी अर्थ संरचना ढालिएको त्यसरात मौरीससका प्रधानमन्त्री अनिरुद्ध जगन्नाथको सम्मानमा रात्रीभोज आयोजना गरे ।
विपक्षीदेखि पार्टीभित्रै विरोध
राज्य संरचनामा अप्रत्याशित गरिएको यूटर्नले विपक्षीहरूबाट आलोचना त हुने भयो नै उनका आफ्नै पार्टी नेताहरू पनि समर्थनमा आउन चाहेनन् । कांग्रेस संसदीय दलमा सिर्फ मणिशंकर ऐर र नाथुराम मिर्धा मात्रै खुलेर रावको समर्थनमा आए । रूपैयाँ अवमूल्यनको एक दिनपछि अर्थात् ४ जुलाईमा पश्चिम बंगाल सरकारले भुक्तान सन्तुलनका लागि एक वैकल्पिक दृष्टिकोण नामको एउटा मस्यौदा पेश गर्यो । नरसिंह रावले कम्युनिस्टहरूलाई आश्वासन दिए, उनको आर्थिक र औद्योगिक नीतिका कारण कुनै मजदुरको रोजगारी खोसिने छैन ।
उद्योगपतिसँग संवाद
उद्योगपतिको सम्भावित त्रास हटाउन सबै ठूला उद्योगीहरूलाई भेट्ने समय दिए । रावको अप्वाइन्टमेन्ट डायरीका अनुसार बजेट पेश भएको दुई दिनपछि २६ जुलाई बिहान ७ बजे उनले धीरु भाइ अम्वानीसँग भेटे । १६ अगष्टमा उनले फेरि अम्वानीसँग दोस्रो संवाद गरे । त्यसका अतिरिक्त ठूला उद्योगीहरूसँग भेट्न उनले आफ्ना प्रेस सचिव पीवीआर के प्रसाद र प्रधान सचिव अमरनाथ वर्मालाई पठाए । उनले भारतका चर्चित उद्योगपति जे आरडी टाटालाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न पनि दिलाए ।
यो पहिलो समय थियो, जब कुनै उद्योगपतिलाई यस्तो सम्मान दिइयो । १९९२ को मध्यसम्म आउँदा भारतको विदेशी मुद्रा भण्डार बढेर सामान्य भइसकेको थियो । उनको राजनीतिक सुझबुझबिना भारतको आर्थिक संरचनामा यूटर्न सम्भव थिएन र सफलताको त झन गुन्जायस नै थिएन ।
चिनियाँ नेता देङसँग तुलना
केही आर्थिक विश्लेषकहरूले आफ्ना किताबहरूमा नरसिंह रावलाई चिनियाँ नेता देङ स्याओ फेङसँग तुलना गरेका छन् । जयराम रमेश लेख्छन् – दुवै नेता परिपक्व थिए । दुवैको करियरमा कैयौं उतार चढाव आए । तर जब मौका आयो दुवैले चौतर्फी आफ्नो छाप छोड्न भ्याए । रावले आर्थिक सुधारको यो काम १९९१ मा गरे, देङले पहिलो पटक १९७८ र फेरि १९९२ मा । देङले माओको कट्टर समाजवादी आर्थिक संरचनालाई पूरै उल्टाइदिए र रावले भारतको आर्थिक नीति सुधारको नयाँ स्तम्भ शुरू गरे । जसलाई केही वर्ष पहिले कल्पनासम्म गर्न सकिँदैनथ्यो ।
१९८८ मा राजीव गान्धी चीन जाँदा विदेशमन्त्रीका रूपमा राव सँगै थिए । तर, देङ स्याओ फेङसँगको बैठकमा राजीव गान्धीले नरसिंह रावलाई टाढै राखे । दुई नेताबीच वान टु वान संवाद भयो । तर, पछि तिनै रावलाई भारतको देङका रूपमा व्याख्या गर्न थालियो ।
रावलाई देङको उपमा दिन र आफू भारतका कुशल आर्थिक सुधारक अर्थशास्त्री बन्न सफल भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अब भौतिक जगतबाट अस्ताएका छन् । आर्थिक उदारीकरण र लोककल्याणकारी चरित्रको वजनलाई सन्तुलनमा राखेर भारतलाई विश्व बजारमा आर्थिक साझेदारका रूपमा उभ्याउने सिंह तेस्रो विश्वका मुलुकहरूको प्रेरणाका रूपमा रहनेछन् । आर्थिक सुधारका रोलमोडल तिनै सिंहप्रति हार्दिक श्रद्धासुमन...!