
विदेशमा कमाएको रकम इन्टरनेसनल मनि एक्सप्रेस (आईएमई) द्वारा नेपाल पठाएबापत कैलालीकी प्रमिला रोकायाले एक करोड पुरस्कार जितेकी छन् । जापानको क्योदाइबाट आईएमई रेमिट्यान्समार्फत रकम पठाएकी उनलाई आईएमई ग्रुपले पुरस्कारबापत एक करोडको चेक हस्तान्तरण गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे । चेक बुझेपछि उनले आईएमईमार्फत पैसा पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना रहेको सुनाइन् ।
गत असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक ‘लक्की ड्र’मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति ‘क्याम्पेन’को भाग्यशाली विजेता बनेकी थिइन् ।
आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राही छनोट गरेको हो ।
आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यमका रूपमा आईएमई गरी पठाउने सेवाग्राहीमध्ये एक जनाले एक करोड नगद जित्ने योजना सार्वजनिक गरेको थियो । साथै, प्रत्येक महिना एक जनाले एक लाख नगद प्राप्त गरेका छन् ।
आईएमई गरी ‘आईएमई पे वालेट’, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी हुन सक्नेछन् । आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो योजना ल्याइएको जनाएको छ ।