
गोरखा, २९ कात्तिक– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धनले आजदेशि देशका प्रमुख शहरमा संयुक्त चुनावी सभा आयोजना गर्दै छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आज गोरखाको पालुङटारमा आयोजित पहिलो संयुक्त चुनावी सभालाई सम्बोधन गर्दैछन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आउने भएपछि पालुङ्टारमा वाम गठवन्धनका कार्यकर्तादेखि सर्वसाधारणसम्मको बाक्लो उपस्थिति देखिन्छ ।
आज (बुधवार) विहानैदेखि पालुङटारमा सर्वसाधारणको भीड बढेको देखिन्छ ।
ओली र प्रचण्ड आउने कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । वाम गठवन्धनका उम्मेदवारमाथि विभिन्न ठाउँमा बम आक्रमण भएपछि ओली र प्रचण्ड आउने कार्यक्रममा भने सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
कार्यक्रम स्थलमा सहभागी हुने कार्यकर्तादेखि सर्वसाधारण सबैलाई कडा चेकजाँच गरेर मात्रै सभास्थलमा पठाइँदै छ ।
ओली र प्रचण्डको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार वाम गठवन्धनको चुनावी सभाको सुरक्षाका लागि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको छ ।
सभा हुने मैदान वरपर तालिमप्राप्त कुकुरको सहयोगमा तलासी गरिएको छ । प्रहरीको कडा चेकजाँचका कारण कार्यक्रममा सहभागी हुन आएका सहभागीले सास्ती भोग्नु परेको छ ।