२२ जेठ २०८३, शुक्रबार

विद्वतालाई स्वदेशमै प्रयोग गर– नारा होइन, व्यवहारमा उतार

पुस १४, २०८१
काठमाडौं
विद्वतालाई स्वदेशमै प्रयोग गर– नारा होइन, व्यवहारमा उतार

देशमा बेरोजगारीको अवस्था भयावह बनेको समयमा त्रिभुवन विश्वविद्यालयबाट एकैपटक १४ हजार विद्यार्थी दीक्षित बने ।

दीक्षित बनेकामध्ये आधाआधी संख्या बेरोजगार छ । यो जनशक्तिलाई बेरोजगार मात्र मन्न मिल्दैन, ‘शैक्षिक बेरोजगार’ भनिनुपर्छ ।  

त्रिविको स्वर्ण दीक्षान्तमा १४ हजार ३ सय ७ विद्यार्थी दीक्षित भए । त्रिवि, पूर्वाञ्चल, काठमाडौं, पोखरा लगायतका विश्वविद्यालयबाट प्रत्येक वर्ष हजारौं विद्यार्थी दीक्षित बनिरहेका छन् ।

यो विद्वत् युवाशक्तिलाई राज्यले सही ठाउँमा उपयोग गर्न सकेको छैन । स्वदेशमा पर्याप्त रोजगारी नहुँदा अवसरको खोजीमा यो वर्ग विदेशिन बाध्य छ । 

विश्वविद्यालयबाट बर्सेनि हजारौं जनशक्ति उत्पादन भएपनि राज्यले त्यसको सही सदुपयोग गर्न सकेको छैन । सीमित व्यक्तिले मात्र सरकारी सेवामा प्रवेशको अवसर पाउँछन् । व्यापार, व्यवसाय, उद्योग र कलकारखाना नहुँदा यो जनशक्ति बाध्यतावश पलायन भइरहेको छ ।

विश्वविद्यालयबाट लिएको डिग्रीको प्रमाणपत्र बाकसमा थन्क्याएर कोरिया जान ईपीएसको फारम भर्नुपर्ने अवस्था विद्यमान छ । 

राज्यको उपयुक्त नीति अभावमा उच्च शिक्षा हासिल गरेको युवाले आफैं उद्यममा लाग्न आनाकानी गरिरहेको छ । सीमित युवा मात्र उद्यमशीलतामा लागेका छन् । उद्यमी बनेका बहुसंख्यक युवा पुर्खाको बिँडो थाम्नेहरू छन् । देशको आर्थिक विकास र समृद्धिका लागि राजनीतिक भाषण होइन, यो जनशक्तिको उपयोग गर्ने नीति आवश्यक छ । 

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम नलाग्ने बताए । व्यवहारमा उतार्ने वातावरण राज्यले मिलाइदिनुपर्छ । 

राज्यले सही नीति लिएन भने यी कालोकोट लगाउनेहरूको निर्विकल्प गन्तव्य विदेश हुनेछ । र, भविष्यमा विद्यालय र विश्वविद्यालयमा पढाउने जनशक्ति समेत पाउन कठिन हुनेछ । जुन, अहिले नै अभाव देखिन थालिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्