
देशमा बेरोजगारीको अवस्था भयावह बनेको समयमा त्रिभुवन विश्वविद्यालयबाट एकैपटक १४ हजार विद्यार्थी दीक्षित बने ।
दीक्षित बनेकामध्ये आधाआधी संख्या बेरोजगार छ । यो जनशक्तिलाई बेरोजगार मात्र मन्न मिल्दैन, ‘शैक्षिक बेरोजगार’ भनिनुपर्छ ।
त्रिविको स्वर्ण दीक्षान्तमा १४ हजार ३ सय ७ विद्यार्थी दीक्षित भए । त्रिवि, पूर्वाञ्चल, काठमाडौं, पोखरा लगायतका विश्वविद्यालयबाट प्रत्येक वर्ष हजारौं विद्यार्थी दीक्षित बनिरहेका छन् ।
यो विद्वत् युवाशक्तिलाई राज्यले सही ठाउँमा उपयोग गर्न सकेको छैन । स्वदेशमा पर्याप्त रोजगारी नहुँदा अवसरको खोजीमा यो वर्ग विदेशिन बाध्य छ ।
विश्वविद्यालयबाट बर्सेनि हजारौं जनशक्ति उत्पादन भएपनि राज्यले त्यसको सही सदुपयोग गर्न सकेको छैन । सीमित व्यक्तिले मात्र सरकारी सेवामा प्रवेशको अवसर पाउँछन् । व्यापार, व्यवसाय, उद्योग र कलकारखाना नहुँदा यो जनशक्ति बाध्यतावश पलायन भइरहेको छ ।
विश्वविद्यालयबाट लिएको डिग्रीको प्रमाणपत्र बाकसमा थन्क्याएर कोरिया जान ईपीएसको फारम भर्नुपर्ने अवस्था विद्यमान छ ।
राज्यको उपयुक्त नीति अभावमा उच्च शिक्षा हासिल गरेको युवाले आफैं उद्यममा लाग्न आनाकानी गरिरहेको छ । सीमित युवा मात्र उद्यमशीलतामा लागेका छन् । उद्यमी बनेका बहुसंख्यक युवा पुर्खाको बिँडो थाम्नेहरू छन् । देशको आर्थिक विकास र समृद्धिका लागि राजनीतिक भाषण होइन, यो जनशक्तिको उपयोग गर्ने नीति आवश्यक छ ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम नलाग्ने बताए । व्यवहारमा उतार्ने वातावरण राज्यले मिलाइदिनुपर्छ ।
राज्यले सही नीति लिएन भने यी कालोकोट लगाउनेहरूको निर्विकल्प गन्तव्य विदेश हुनेछ । र, भविष्यमा विद्यालय र विश्वविद्यालयमा पढाउने जनशक्ति समेत पाउन कठिन हुनेछ । जुन, अहिले नै अभाव देखिन थालिसकेको छ ।