०६ साउन २०८३, बुधबार
सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं उपत्यकामै गुठी संस्थानको २८ रोपनी जग्गा अतिक्रमण, छैन अन्यत्रको यकिन अभिलेख

पुस १४, २०८१
काठमाडौं
काठमाडौं उपत्यकामै गुठी संस्थानको २८ रोपनी जग्गा अतिक्रमण, छैन अन्यत्रको यकिन अभिलेख

गुठी संस्थानअन्तर्गत काठमाडौं उपत्यकासहित देशभर रहेको सयौं रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ ।

गुठी संस्थान प्रधान कार्यालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार काठमाडौं उपत्यकामै २८ रोपनीभन्दा बढी जग्गा व्यक्ति तथा विभिन्न फर्मले अतिक्रमण गरेको पाइएको हो ।

संस्थानको पछिल्लो (आर्थिक वर्ष २०७७/०७८ को) लेखापरीक्षण प्रतिवेदनअनुसार काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, भक्तपुरमा २ रोपनी जग्गा अतिक्रमणमा परेको देखिन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७, गुह्येश्वरीस्थित गुह्येश्वरी सिन्दुर चन्दन तैनाथी गुठीको कित्ता नम्बर ८४ को झन्डै ५ रोपनी जग्गा अतिक्रमणमा परेको छ ।

लेखा परीक्षण प्रतिवेदनअनुसार उक्त कित्ताको (४-९-२-२) क्षेत्रफल जग्गा अतिक्रमणमा परेको छ ।

'जग्गाको दुवैतर्फ बाटो बनाइएको, पूर्वतर्फ अतिक्रमण गरी करिब १५/१६ वटा साना- ठूला पक्की घरसहित टहरा निर्माण गरेको पाइएको छ । सोही जग्गाको पश्चिमतर्फ टोल सुधार भवन र खेलमैदान बनाइएको छ । सबै संरचना बनेपश्चात बाँकी रहेको (१-२-०-०) रोपनी जग्गामा सीमित भएको पाइयो,' प्रतिवेदनमा उल्लेख छ ।

उक्त अतिक्रमण हटाउन २०७४ चैत १ गते गुठी संस्थान सञ्चालक समितिको बैठकले निर्णय गरेपनि उक्त अतिक्रमण हटाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, काठमाडौंकै कालोपुलबाट गौशालातर्फ जाँदा उत्तरपूर्वमा रहेको भण्डारेश्वर गुठीको झन्डै ९ रोपनी जग्गा अतिक्रमण भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ९ को (३-२-३-०) रोपनी र कित्ता नम्बर १० को (५-९-२-१) रोपनी जग्गा अतिक्रमण भएको उक्त लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

गुठीको उक्त जग्गा संन्यासीहरूको समाधिका लागि र पशुपतिमा दैनिक भीमसेन पाती चढाउनका लागि व्यवस्था गरिएको हो ।

'उक्त जग्गाको स्थलगत निरीक्षण गर्दा जग्गाको बीचबाट स्थानीय बासिन्दाहरूले संस्थानको स्वीकृतिबेगर मोटरबाटो खोलेको र व्यक्तिहरूले टहरा बनाई व्यवसाय सञ्चालन गरेका छन् । सोही जग्गामा ग्रील उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको छ,' लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

गुठी संस्थानले अतिक्रमण हटाउन पटक-पटक पत्राचार गरेपनि अतिक्रमण यथावत रहेको जनाइएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर २ (क) कित्ता नम्बर ४१ को टेकु जगन्नाथ मन्दिरको तैनाथी जग्गा पनि अतिक्रमणमा परेको छ ।

null

'उक्त मन्दिरसँगै रहेको जग्गामा व्यक्तिले पुराना सामग्री संकलन गर्ने स्थानको रूपमा व्यापारिक प्रयोजनार्थ उपयोग गरेको छ । जसको उपयोगका लागि व्यक्तिले संस्थानको स्वीकृति लिएको छैन । सोही जग्गामा रहेका मन्दिरका सत्तलहरूमा केही परिवारले बसोबास गरेको देखिन्छ,' प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, धनुषामा १७ विघा , महोत्तरीमा ७२ विघा, बारामा २७ विघा र पर्सामा ७ विघा जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुरधामबाट प्राप्त विवरण अनुसार जनकपुरमा मात्रै १ हजार १८८ कित्ता अतिक्रमणमा परेको प्रतिवेदनमा जनाइएको छ ।

जनकपुरको राम मन्दिर गुठी, लक्ष्मण मन्दिर गुठी, रत्नसागर गुठी, दशरथ मन्दिर गुठी, हनुमाननगर गुठीलगायतका गुठीहरूको १ हजार १८८ थान कित्ता अतिक्रमणमा परेको उक्त प्रतिवेदनमा जनाइएको छ ।त्यसैगरी, दाङको नारायणपुरमा रहेको करीब १५७ रोपनी जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा जनाइएको छ ।

कति अतिक्रमण भयो-छैन अभिलेख

देशभरका ७० जिल्लामा गुठी संस्थानको जग्गा छ, जसमध्ये पहाडतर्फ ५ लाख ६१ हजार ९९० रोपनी र तराईतर्फ १ लाख ३० हजार ४६४ रोपनीसहित कुल ६ लाख ९२ हजार ४५४ रोपनी जग्गा रहेको गुठी संस्थानले जनाएको छ ।

रैतान नम्बरीतर्फ पहाडतर्फ  ३ लाख १५ हजार ४७२ रोपनी छ भने तराईतर्फ ६२ हजार २५६ रोपनी जग्गा रहेको गुठी संस्थानले जनाएको छ ।

त्यसैगरी, गुठी अधीनस्थ जग्गामध्ये पहाडतर्फ २ लाख  ४३ हजार ६०७ रोपनी र तराईतर्फ ६६ हजार ३३० रोपनी जग्गा रहेको छ ।

गुठीको तैनाथी जग्गातर्फ पहाडमा २ हजार ९११ रोपनी र तराईमा १ हजार ८७८ रोपनी जग्गा रहेको छ ।

nullnull

उक्त जग्गामध्ये देशभर कुल अतिक्रमण कति छ भन्ने कुराको यकिन तथ्यांक गुठी संस्थानसँग पनि छैन ।

संस्थानका सहायक प्रशासक राजेन्द्र दाहालले देशभर गुठी संस्थानको जग्गा अतिक्रमण भएको पाइए पनि एकीकृत अतिक्रमणको तथ्यांक संस्थानसँग नरहेको बताउँछन् ।

'कतिपय सम्बन्धित शाखा कार्यालयहरूमा नै अतिक्रमित जग्गाको यकिन अभिलेख छैन,' दाहालले लोकान्तरसँग भने, 'अन्य कतिपय शाखा कार्यालयहरूबाट यहाँ प्रधान कार्यालयमा तथ्यांक पठाइएको भए पनि कर्मचारी अभावका कारण तथ्यांकलाई हालसम्म एकीकृत गर्न सकिएको छैन ।'

१९६ जना कर्मचारीको दरबन्दी रहेको गुठी संस्थानमा ५८ जना मात्र स्थायी दरबन्दीका कर्मचारी रहेको तथा ३०/४० जना करार र दैनिक ज्यालादारीमा कार्यरत रहेको उनले बताए ।

गुठी संस्थान प्रधान कार्यालयदेखि शाखा कार्यालयहरूमा जनशक्ति अभाव भएकाले अतिक्रमणको तथ्यांक संकलन हुन नसकेको उनले बताए ।

गुठी संस्थानले ती जग्गाको समुचित व्यवस्थापन गर्न कुनै नीति तथा कार्यविधि समेतको व्यवस्था गरेको छैन ।

संस्थानको अधीनमा रहेको सम्पत्तिको दुरुस्त लगत तथा भौतिक परीक्षण गरी सोको प्रतिवेदन तयार गर्नुपर्नेमा गरेको छैन ।

'सम्पत्तिको लगत संस्थानका लागि महत्त्वपूर्ण दस्तावेज भएपनि त्यसको अभावमा मालपोत तथा कूतवालीको असुली मोहीहरूले लिएर आउने पछिल्लो रसिदका आधारमा हुने गरेको पाइयो,' प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्