
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा उमेर हद लगाउनुपर्ने पक्षमा नतिजा आएको छ । ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेबारे निर्णय लिन भएको निर्वाचनमा २१ मतले उमेर हदको पक्षमा नतिजा आएको हो ।
शनिबार निर्वाचन सम्पन्न भएपनि आइतबार सार्वजनिक अन्तिम नतिजा अनुसार उमेर हदको पक्षमा ९०० मत आएकोमा विपक्षमा ८७९ मत मात्रै आयो । यससँगै उमेर हदको विपक्षमा रहेको प्रभावशाली समूह नेतृत्वको रेसबाट आउट भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानका अनुसार अब ३२ वर्षे उमेर हदबाट नेतृत्व चयनका लागि माघ १२ गते मतदान हुनेछ । यसअघि पुस १७ गते मतदान हुने भनिएपनि प्राविधिक कारण देखाउँदै मतदान हुने मिति सारिएको हो।