
गोरखा, २९ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसहयात्री बाबुराम भट्टराईप्रति व्यंग गर्दै नेपालमा केजरीवाल बन्ने सपना नदेख्न आग्रह गरेका छन् । नेपाल भारतको नयाँ दिल्ली नभएको भन्दै प्रचण्डले बाबुरामलाई दिल्लीको मुख्यमन्त्री अरबिन्द केजरीवाल बन्ने लालस त्याग्न आग्रह गरे ।
कांग्रेसको समर्थनमा गोरखा–२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नयाँ शक्ति नेपालका संयोजक भट्टराई नेपाली राजनीतिका हास्यपात्र बनेको प्रचण्डको टिप्पणी थियो । वाम गठवन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न बुधवार गोरखा पुगेको प्रचण्डले भट्टराईप्रति इंगित गर्दै भने, ‘तपाईंलाई के के न गर्छु, नयाँदिल्लीमा जस्तै केजरीवाल हुन्छु भन्ने लागेको थियो। तर तपाईं केजरीवाल होइन र नेपाल नयाँ दिल्ली पनि होइन।’
बाबुराम माओवादीमा फर्केको भए उनका लागि गोरखा–२ आड्न आफू तयार भएको पनि प्रचण्डले बताए । ‘उहाँ त कता कता पुग्नुभयो। कांग्रेसँग गठबन्धन गर्नुभो,’ प्रचण्डले भने, ‘हिले घरको न घाटको भएको देख्दा हामीलाई नरमाइलो लागेको छ ।’
भट्टराईमा पैँसा बाँडेर चुनाव जित्ने सपना रहेको बताउँदै प्रचण्डले भने, ‘उहाँको त्यो सपना पनि पूरा हुँदैन । गोरखामा माओवादीको जवर्जस्त संगठन र प्रभाव छ। गोरखाली जनता विचारद्वारा गाइडेड भएकाले २–४ पैसामा बिक्दैनन्।’
वाम गठवन्धनमा आउन चाहे भट्टराईका लागि अझै पनि बाटो खुला रहेको प्रचण्डले बताए । ‘उम्मेदवारी छाडेर आउनु भयो भने सम्बोधन गर्न तयार । नत्र भीरबाट लडेको गोरुजस्तै हुनुहुनेछ,’ प्रचण्डले भने ।