
बनेपा, २५ मङ्सिर - कठिन मार्सल आर्टकोे विधामा रहेको अञ्चलस्तरिय खुला महिला तथा पुरुष मुवा थाई प्रतियोगिता काभ्रेपलाञ्चोकको धुलिखेलमा आगामी पुसको सुरुमै हुने भएको छ ।
थाइल्यान्डमा दशकौँंअघि राजाले खेल्ने खेलका रुपमा नेपाल भित्रिएको मुवा थाइ प्रतिगोगिता पुस १ र २ गते आयोजना हुन लागेको मुवा थाइ सङ्घ, काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा जानकारी दिइएको छ ।
हातमा डोरी बाँधेर खेलिने खेलमा हातखुट्टाको मात्रै प्रयोग नभई समातेर पनि हान्न पाइने तर त्यस क्रममा लडेपछि हान्न नपाइने मुवा थाइ सङ्घका अध्यक्ष गणेश कक्षपतिले बताउनुभयो । यसलाई तीन चरणमा खेल्न सकिने जनाइएको छ । उहाँले यसको व्यावसायिक विकासमा जोड दिँदै सन् २०१३ र २०१४ मा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तीन कास्य पदक समेत जितेको जानकारी दिनुभयो ।
सन् २०१० मा थाइल्यान्डमा भएको प्रतियोगितामा पनि नेपालले सहभागिता जनाएको थियो । “हामीले यसलाई ओलम्पिकमा पनि लैजाने प्रयास गरेका छौँ” कक्षपतिले भन्नुभयो ।” प्रतियोगितामा नेपाली सेनाका केही महिला समेत सहभागी हुने छन् ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत मुवा थाई प्रतियोगिताको प्रदर्शनी हुने मुवा थाई सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष वज्र लामाले जानकारी दिनुभयो । रासस