
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलका स्वकीय सचिव पनि ठगीमा जोडिएका छन् । मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन् । ठगी प्रकरणमा पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेशसमेत दिएको छ ।
पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको पीडितले बताएका छन् । छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीले बताए ।
लेखा समितिका सभापतिकी श्रीमती यसअघि नै सहकारी ठगीमा मुछिँदै आएका छन् । उनले श्रीमतीको पक्षमा अनुचित दवाव दिएको समेत यसअघि खुलासा भएको थियो
००००
सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले सरकारका काम पर्याप्त नरहेको बताएको छ ।
बिहीबार बसेको सचिवालय बैठकपछि एमालेले दुई शक्तिशाली दलको सरकारले अझै प्रभावकारी काम गर्नुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
बैठकले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
००००
गौशालास्थित बागमती होटलको कोठा नम्बर ३०८ मा मृत फेला परेकी सुस्मिता खड्काको हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौं महानगरपालिका–९ गौशालास्थित उक्त होटलमा कोठाको बाहिरबाट ताला लगाएको अवस्थामा सुस्मिता मृत भेटिएकी थिइन् । सुस्मितासँग उक्त होटल पुगेका देवबहादुर थापाको प्रहरीले खोजी गरेको छ। देवबहादुर सुस्मितका प्रेमी रहेको खुलेको छ ।
००००
कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरत थापाको संयोजकत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको हो । समितिमा सहकारी विज्ञमा झापाका धनप्रसाद सिवाकोटी र लेखा विज्ञमा जीवन काफ्ले रहेका छन् । मन्त्रिपरिषद्को बैठकले समितिको काम, कर्तव्य तथा अधिकारी समेत टुंग्याएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका हुन् ।
करिब दुई घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।
००००
नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवाका लागि सिफारिस भएका हुन् ।
००००
कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितको तर्फबाट बहस गरेका अधिवक्ताहरूले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्दा प्रमाण नष्ट गर्ने र पीडितको अधिकार खोसिने जिकिर गरेका छन् ।
लामिछाने सहितको संलग्नतामा भएको सहकारी ठगी नेपालको फौजदारी इतिहासकै ठुलो अपराधको घटना भएको उनीहरूले दाबी गरे । न्यायाधीश नितिज राईको इजलासमा बिहीबार भएको बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लामिछाने सहितको संलग्नतामा भएको सहकारी ठगी कानुनी रूपमा मात्र नभई मानवीय अपराध भएको जिकिर गरेका हुन् ।
००००
विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक÷एक लाख जरिवाना तिराइएको हो ।
जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक÷एक लाख सहयोग गरिएको हो ।
००००
शेयर बजार परिसूचक नेप्से बिहीबार पनि झिनो अंकले बढेको छ । ४.६३ अंकले बढेर नेप्से परिसूचक २५८६.२३ बिन्दुमा कायम भएको छ । १५६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ ।
००००
प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
समितिको बिहीबार बसेको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो ।
००००
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको बैठकमा सहभागी भएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समितिको बैठकमा पुन सहभागी भएका हुन् ।
यसअघि पुन पदाधिकारी बैठकमा सहभागी भएका थिए । उनी सक्रिय राजनीतिमा आउन खोजिरहेका छन् । उनलाई माओवादीमा उपाध्यक्ष बनाएर सक्रिय बनाउने तयारी छ । तर, यस विषयमा पार्टीभित्र सहमति जुटिसकेको छैन ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटमा रहेको शेरा दरबार सरकारकै नाममा फिर्ता ल्याउन आग्रह गरेका छन् ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एमाले सांसद वासुवेद घिमिरेले शेरा दरबारको प्रसंग निकालेपछि प्रचण्डले जग्गा फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।