
सपना विककी आमा सेतु छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छिन् । आर्थिक अभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि दंग नहुने कुरै भएन ।
कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ । 'अरु साथीहरू साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो,' उनले भनिन्, 'अब साथीहरूसँगै म पनि लैजान्छु ।'
टीकापुर नगरपालिका–४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल किनिदिएपछि अन्य छात्रा पनि यस्तै सोचिरहेका छन् । साइकल पाएपछि छात्रा मात्र होइन उनीहरूका अभिभावक पनि खुसी भएका छन् । रुपा चौधरीकी आमा शिला चौधरी पनि छोरीले साइकल पाएपछि खुसी भइन् । 'छोरी आधा घण्टा बढी समय हिँडेर विद्यालय जान्थिन,' शिलाले भनिन्, 'पढाइमा राम्रो नतिजा ल्याउने छोरीको आवश्यकता साइकल भए पनि किनिदिन सकेका थिएनौँ ।'
हीराकुमारी डगौरा थारूकी छोरी आयुषा चौधरी सरस्वती मावि वनगाउँमा अध्ययन गर्छिन्। घरबाट विद्यालय पुग्न आधा घण्टा बढी समय लाग्ने भए पनि आयुषा नियमित विद्यालय उपस्थित हुन्थिन् । 'मलाई कहिलेकाहीँ ढिला हुन्थ्यो, ढिलो भएको दिन आमा आज नजा भन्नुहुन्छ, तर म मान्दिनथेँ,' आयुषाले भनिन्, 'अब साइकलमा २० मिनेटमै पुग्छु, समय पनि बचत हुन्छ । आमालाई पनि घरको काममा सघाउन भ्याउँछु ।'
कक्षा ११ मा अध्ययनरत सन्ध्या चौधरीलाई पनि स्कुल जान समस्या हुन्थ्यो । 'बिहान ६ बजे स्कुलका लागि हिँड्नुपर्ने भएकाले समस्या थियो,' उनले भनिन्, 'अब सजिलो भएको छ ।'
टीकापुर नगरपालिका– ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको हो । वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरुको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको छ ।
वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताए ।
वडाले एक लाख ६० हजार बजेटमा १८ साइकल वितरण गरेको हो । साइकलका लागि ६० बालिकाको निवेदन परेको थियो । रासस