०७ असार २०८३, आइतबार

तराई-मधेशमा बढ्यो चिसो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

पुस १९, २०८१
धनुषा
तराई-मधेशमा बढ्यो चिसो, सतर्कता अपनाउन चिकित्सकको आग्रह
सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । तस्वीर : विश्वनाथ ठाकुर/रासस

धनुषालगायत मधेशका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । 

चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघा खोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ । 'यसका साथै बाथ तथा गेठियाका रोग लागेका विरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ । चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक छ,' महासेठले भने । 

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले केही दिनदेखि अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

'अस्पतालमा रुघा खोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । जनकपुरधाम क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ । त्यसैले विशेष सतर्कताका लागि हाम्रो आग्रह छ,' उनले भने । 

चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए ।

चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्