
मधेश प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले विभिन्न स्वास्थ्य उपकरण खरिदका लागि आह्वान गरेको टेन्डरमा अनियमितता भएको पाइएको छ ।
केन्द्रका निर्देशक डा. राजीवकुमार झा र बायोमेडिकल इन्जिनियर बन्दना मिश्रको मिलेमतोमा अनियमितता गरेको पाइएको हो । एउटा खास आपूर्तिकर्ताले मात्र ठेक्का पाउने गरी पूर्वशर्त तोकेर मिलेमतोमा 'स्पेसिफिकेसन' तयार गरेको पाइएको छ ।
केन्द्रले विभिन्न प्याकेजमा स्वास्थ्य उपकरण खरिदका लागि ठेक्का आह्वान गरेको छ, जसमध्ये कुल ९३० बक्स एक्सरे फिल्म खरिदका लागि 'ट्राइम्याक्स' कम्पनीकै हुनुपर्ने भनेर पूर्व शर्त निर्धारण गरिएको छ ।

'बजारमा कोनिका, केयरस्ट्रिम, एजीएफए, एफयुजेडआई नामक कम्पनीको पनि एक्सरे फिल्म आपूर्ति हुने गरेकोमा ट्राइम्याक्स कम्पनीकै हुनुपर्ने भनेर पूर्वशर्त निर्धारण गरी एउटा खास आपूर्तिकर्ताले मात्र टेन्डर पाउने गरी स्पेसिफिकेसन बनाइएको छ,' एक आपूर्तिकर्ताले लोकान्तरसँग भने, 'यो सरासर मिलेमतो हो । कुनै एक कम्पनीले मात्र ठेक्का पाउने गरी प्रतिस्पर्धालाई सीमित पार्न खोज्नु भ्रष्टाचार नै हो ।'
विशाल पण्डित समूहले मात्र ट्राइम्याक्स कम्पनीको एक्सरे फिल्म आपूर्ति गर्ने हुनाले पण्डित समूहलाई नै ठेक्का पार्ने गरी स्पेसिफिकेसन तयार पारिएको उनको दाबी छ ।
तीन फरक–फरक साइजको एक्सरे फिल्म केन्द्रले किन्न लागेको हो । ८ बाइ १० साइजको ५६० बक्स, १० बाइ १२ साइजको ३ सय बक्स र १४ बाइ १७ साइजको ७० बक्स एक्सरे फिल्म खरिदका लागि केन्द्रले ठेक्का आह्वान गरेको हो ।
त्यसैगरी, ल्याब रिएजेन्ट खरिदका लागि आह्वान गरिएको अर्को ठेक्कामा पनि कुनै खास आपूर्तिकर्तालाई मात्र पार्ने गरी स्पेसिफिकेसन तयार गरेको पाइएको छ । बजारमा विभिन्न कम्पनीको रिएजेन्ट पाइने भएपनि 'मिन्ड्रे' नामक कम्पनीको नाम नै तोकेर स्पेसिफिकेसन तयार पारिएको छ ।

बजारमा होर्रीबी, मिसपा, म्यागलुमी, ईआरबीए नामक कम्पनीको आपूर्तिकर्ता रहे पनि 'मिन्ड्रे स्लिया' नामक कम्पनीको मात्र रिएजेन्ट खरिद गर्ने भनेर स्पेसिफिकेसनमा नै पूर्वशर्त निर्धारण गरी प्रतिस्पर्धालाई सीमित पार्न खोजिएको अर्का एक आपूर्तिकर्ताले बताए ।
केन्द्रले टीएसएच ५० किट, एफटीथ्री ५० किट, एफटीफोर ५० किट, भिटामिन डी- ५० किट, भिटामिन बी १२ -५० किट खरिद गर्ने भनेर टेन्डर आह्वान गरेको हो । तर, ती सबै सामान 'मिन्ड्रे' कै हुनुपर्ने भनेर स्पेसिफिकेसनमा नै पूर्वशर्त निर्धारण गरिएको छ ।
त्यसैगरी, ५ सेट आरओ ड्रिकिंङ वाटरको आपूर्ति तथा जडान गर्नका लागि आह्वान गरिएको अर्को ठेक्कामा पनि पूर्वशर्त राखिएको छ ।
कम्तीमा २ वर्ष नेपाल सरकारमातहतको ठेक्का लिएको अनुभव भएको हुनुपर्ने पूर्वशर्त राखिएको छ ।

त्यसैगरी, दन्त चिकित्सा र नाक, कान, घाँटी (ईएनटी) सम्बन्धी उपचारका लागि औजार उपकरण खरिदका लागि विगत वर्षमै संशोधन गरिसकिएको स्पेसिफिकेसनलाई बाइपास गरेर पुरानै स्पेसिफिकेसन राखी टेन्डर आह्वान गरिएको छ । ईएनटी एन्डोस्कोप र ईएनटी माइक्रो स्कोप खरिदका लागि आह्वान गरिएको टेन्डरमा बदमासी भएको ती आपूर्तिकर्ताको दाबी छ ।
'ती उपकरण खरिदका लागि गत वर्ष पनि एउटा खास आपूर्तिकर्ताले मात्र पाउने गरी स्पेसिफिकेसन बनाइएको थियो । तर, आपूर्तिकर्ताहरूले त्यसमा आपत्ति जनाएपछि प्रिबिड मीटिङमार्फत स्पेसिफिकेसनलाई संशोधन गरेर सबैलाई मान्य हुने बनाइएको थियो,' ती आपूर्तिकर्ताले लोकान्तरसँग भने, 'तर, यस वर्ष टेन्डर आह्वान गर्दा संशोधित स्पेसिफिकेसनअनुसार नगरी पुरानै स्पेसिफिकेसनका आधारमा आह्वान गरिएको छ ।'

ती सबै विषयमा यदि केही कमजोरी रहेको भए बोलपत्र प्रस्ताव गर्ने आपूर्तिकर्ताहरूबीच हुने प्रिबिड मीटिङबाट सच्च्याइने केन्द्रका निर्देशक झाको जिकिर छ ।
एक्सरे फिल्म ट्राइमेक्स कम्पनीकै माग गरिएको विषयमा पनि उनले प्रस्टीकरण दिए ।
'हामीले टेन्डर आह्वान गरेर किन्ने मात्र हो । जडान प्रदेशका अन्य विभिन्न अस्पतालमा हुने हो,' झाले लोकान्तरसँग भने, 'हामीसँग डिमान्ड गरेका अस्पतालमा पहिलेदेखि नै ट्राइम्याक्स कम्पनीकै एक्सरे मशिन जडान भएकाले सोही कम्पनीको फिल्म किन्न स्पेसिफिकेसन बनाइएको हो ।'
त्यसैगरी, प्रदेशका विभिन्न प्रयोगशालाहरूका लागि किन्न लागिएको रिएजेन्टमा पनि त्यही 'मिन्ड्रे' नामक कम्पनीकै किन्न बोलपत्र प्रस्ताव आह्वान भएको उनले स्वीकारे ।
'प्रदेशका विभिन्न प्रयोगशालाहरूमा 'मिन्ड्रे' कम्पनीकै रिएजेन्ट प्रयोग गर्न माग भएको हुनाले हामीले त्यही कम्पनी किटान गरेका हौं,' झाले लोकान्तरसँग भने ।
झाले उक्त जिकिर गरे पनि प्रदेशका सबै अस्पतालमा अन्य कम्पनीको पनि एक्स-रे मशिन जडान भएको तथा अन्य एक्सरे मशिनका लागि पनि फिल्मको डिमान्ड भएको हो ।
त्यसैगरी, प्रयोगशालाहरूमा पनि अन्य कम्पनीको रिएजेन्ट माग भएपनि एउटा मात्र कम्पनीको लागि टेन्डर आह्वान गरिएको छ ।
आरओ ड्रिकिंङ वाटर सिस्टमका विषयमा २ वर्षको अनुभव भएको हुनुपर्ने शर्तलाई पुनर्विचार गर्न सकिने निर्देशक झाले खुलाए ।
ईएनटी एन्डोस्कोप र ईएनटी माइक्रोस्कोपको टेन्डरमा यदि प्रश्न उठेको हो भने कुनै आपूर्तिकर्ताले निवेदन दिएमा प्रिबिड मीटिङमा छलफल गरी स्पेसिफिकेसनलाई संशोधन गर्ने बाटो यथावत नै रहेको झाले बताए ।