१० साउन २०८३, आइतबार

बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड दिने

पुस १९, २०८१
मकवानपुर
बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड दिने

बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माण गर्न रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौंडा–काठमाडौं सडक पुनर्निर्माण गर्न रु ११ करोड २५ लाख र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मत गर्न रु चार करोड बजेट व्यवस्था गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार बैठकले कुलेखानी–सिस्नेरी सडक मर्मत गर्न रु ५० लाख, कुलेखानी–महालक्ष्मी खोला फाखेल खण्ड मर्मत गर्न रु २५ लाख बजेट व्यवस्था गरेको छ । 

साथै सिमखोलमा बेलिब्रिज राख्न रु दुई करोड, सिस्नेरी खण्डको सडक पुनर्निर्माणका लागि रु छ करोड र सिस्नेरी–छैमले खण्डको सडक पुनर्निर्माण गर्न रु दुई करोड ५० लाख व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेअनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको थियो ।

बैठकले सङ्घीय सरकारबाट सरुवा भएर आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

साथै प्रदेश सरकारले ११ औं तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य संस्था आशय पत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्