
धनगढी, ३० कात्तिक– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले मंसिर १० र २१ गतेको चुनावपछि पनि आफैं प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
बिहीवार विहान कैलाली सदरमुकाम धनगढीमा आयोजित पत्रकार सम्मेलनमा देउवाले चुनावपछि पनि आफैं प्रधानमन्त्री बन्ने दावी गरेका हुन् ।
चुनावमा पार्टीको बहुमत आउने र त्यसपछि पनि आफैं प्रधानमन्त्री बन्ने देउवाको भनाइ थियो । ‘ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्,’ देउवाले भने, ‘चुनाव पछि पनि मनै प्रधामन्त्री बन्ने हो ।’
देउवाले ७ नम्बर प्रदेश (सुदूरपश्चिम)बाट आफू बाहेक प्रधानमन्त्री हुने अवस्थाको नेता अहिले नभएको पनि दावी गरे ।
एमाले अध्यक्ष ओलीले बुधवार गोरखामा आयोजित चुनावी सभामा ‘कांग्रेस पार्टीबाट देउवा अन्तिम प्रधानमन्त्री’ भएको भनेर दिएको अभिव्यक्तिबारे पत्रकारको प्रश्नमा देउवाले भने, ‘चुनावपछि कांग्रेसको बहुमत आउँछ । फेरि पनि प्रधानमन्त्री हुने व्यक्ति मै हुँ ।’
देउवाले गृहजिल्ला डडेल्धुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको पनि दावी गरे ।
प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाको पक्षमा चुनाव प्रचार गर्न कैलालीमा छन् । देउवा पत्नी आरजु कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार छन् ।