
नेपाल लाइफ इन्स्योरेन्सले 'नेपाल लाइफ रक्षा कवच जीवन बीमा' योजना सार्वजनिक गरेको छ ।
न्यूनतम् बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही पुस १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।
एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो ।
यसको न्यूनतम् बीमाङ्क रकम रू ५,००,००० (पाँच लाख) र अधिकतम बीमाङ्क रकम रु १,००,००,००० (एक करोड) रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम् १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ ।
बीमा अवधि न्यूनतम् १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा (ADB, ADB/PTD/PWB) पनि न्यूनतम् ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधि सम्म लिन सकिने छ ।
यस योजना अन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको उनले बताए ।