३० असार २०८३, मंगलबार
सुनसरी–१ को चुनावी भिडन्त

‘अग्ला’ अशोक राईमाथि ‘होचा’ राई हाबी !

कात्तिक ३०, २०७४
‘अग्ला’ अशोक राईमाथि ‘होचा’ राई हाबी !

धरान, ३० कात्तिक–प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुनसरीमा पाँच ‘हेभिवेट’हरु चुनावी मैदानमा छन् । मैदानमा हुनेहरुमा उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीदेखी पूर्वपर्यटनमन्त्री तथा एमाले सचिव भीम आचार्यसम्म सुनसरीको मैदानमा छन् ।

एमालेका पूर्वउपाध्यक्ष तथा संघिय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राई पनि सुनसरीलाई नै रोजेका छन् । ४ क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभामा अर्थमन्त्री कार्की, ३ मा बिजयकुमार गच्छदार र १ को ख बाट प्रदेशसभामा एमाले सचिव आचार्य उठेका छन् । 

यसैगरि सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई चुनावमा छन् । विगतको चुनावी परिणामका आधारमा सुनसरीका सबैभन्दा धेरै असुरक्षित र चुनावी गठबन्धनको मतको धेरै अन्तरको अवस्था अशोक राईकै छ । 

अशोक राईलाई यो चुनाव कतिपय राजनीतिक विश्लेषकको भनाइमा ‘गर’ या ‘मर’को अवस्थामा छ ।
 
१५ हजारको मतले पछि रहेको गठबन्धनबाट उम्मेदवार

नेपाली कांग्रेसको समर्थनमा प्रतिनिधि सभाकोलागी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका अशोक राईको गठबन्धको मत वाम गठबन्धन भन्दा १५ हजार कम छ । १ लाख २२ हजार ६ सय ८ मतदाता रहेको सुनसरीको संघीय सांसद हुनलाइ राईको गठबन्धनको मत पनि कम छ ।

पछिल्लो स्थानिय चुनावको आधारका सुनसरीका क्षेत्र नम्बर १ मा एमालेको ३० हजार १ सय ३८ मत आएको देखिन्छ भने कांग्रेसको मत २३ हजार २४ मत आएको थियो । यसैगरी माओवादी केन्द्रको १२ हजार ७ सय ४० मत आएको थियो ।

नयाँ शक्तिसँग मिलेर स्थानीय चुनावमा उत्रेको समाजवादी फोरमको भने ५ हजार ५ मत आएको देखिन्छ । यसरी वाम गठबन्धनको कुल मत ४२ हजार ८ सय ७८ हुन आँउछ भने कांग्रेस र समाजवादी फोरमको मत २८ हजार २९ रहेको छ । 

अशोक राई उम्मेदवार बनेको लोकतान्त्रिक गठबन्धन १४ हजार ८ सय ४९ मतले बाम गठबन्धनभन्दा पछाडि छ । 

आफ्नै 'जुनियर' पूर्व कार्यकर्ताको चुनौती

धेरैले धरान क्षेत्रमा पर्ने सुनसरी १ को प्रतिनिधिसभामा उठेका अशोक राई र उनका प्रतिस्पर्धी एमाले जिल्ला नेता जयकुमार राईलाइ गुरु चेला भनेर चर्चा गरेका छन् । 

तर, उनीहरु गुरुचेला नभएर एकै पार्टीमा हुँदाका सिनियर र जुनियर मात्रै भएको अशोक राईका चेला भनेर चिनाइएका जयकुमार राई बताँउछन् ।

उनी भन्छन, ‘म अशोक राईले उत्पादन, प्रशिक्षण र संगठन गरेर बनेको हैन तर विभिन्न पार्टी कार्यक्रमहरुमा जम्काभेट र कुराकानी भने हुन्थ्यो ।’

अशोक राई र जयकुमार राईको सांगठनिक धागो भने पुरानै हो । जब २०५४ सालमा एमाले फुटेर माले बन्दा अशाोक बामदेव गौतम र सिपी मैनाली नेतृत्वको मालेका शक्तिशाली स्थायी कमिटमा थिए । 

पार्टीको शक्तिशाली स्थायी कमिटी सदस्य अशोक राई हुँदा जयकुमार राई सुनसरीको मालेको विद्यार्थी संगठनका नेता थिए ।
 
एमालेमा फर्केर आएपछि  पनि अशाक राई एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य भएर उपाध्यक्षसम्म भए । वामदेव गौतम र अशाक राईसँगै एमालेमा आएका जयकुमार राई पनि सुनसरी एमालेको सचिवालय सदस्य सम्म भए । 

२०६५ को फागुन ५ देखी १४ गते सम्म बुटवलमा भएको महाधिवेशनमा अशोक राई केन्द्रीय उपाध्यक्ष बन्दा जयकुमार राई हाल मेयर रहेका तारा सुब्बा नेतृत्वको धरान नगरकमिटीका उपाध्यक्ष थिए ।

यसरी आफूभन्दा धेरै जुनियर कार्यकर्ता नै आफ्नो खरो प्रतिस्पर्धी पाएका राईलाइ आफ्नो ‘पोलिटिकल प्रोफाइल’ जोगाउन सजिलो नभएको स्वयं लोकतान्त्रिक गठबन्धनका नेताहरु बताँउछन् । 

तर, राई भने आफूले धरानमा धेरै कार्यकर्ताहरु उत्पादन गरेको भन्दै त्यही जनआधारमा आफ्नो जित हुने बताँउदै आएका छन् ।
 
वामपन्थी बाहेकले नजित्ने धरान र खोटाङ बाहिर हार्ने अशोक राईको विगत

अशोक राईको चुनावी विगत र धरान केन्द्रीत सुनसरी १ को विगतका सबै उदाहरण पनि रोचक छन् । धरानमा वामपन्थी मात्रैले जित्दै आएको क्षेत्र हो । 

४८, ५१, ५६, ६४ र ७० का सबै चुनावमा वामपन्थीले जित निकालेका छन् । ४८ सालमा धरान बाहिरका एमाले नेता मनोमोहनले जित निकालेको धरानमा २०५१ र ५६ मा  प्रत्यक्ष चुनावमै दुइ महिलाले पनि एमाले बाटै जित निकालेका हुन ।

५१ सालमा धरानबाट चुनाव जित्ने लिला श्रेष्ठ सुब्बा प्रथम महिला उपसभामुख समेत भइन भने ५६ सालमा चुनाव जित्ने कुन्ता सर्मा संसद इतिहासमै पहिलोपटक संसदमा कविता बाचन गर्ने चर्चित कवि र सांसद हुन ।

यसैगरी २०६२÷६३ सालको दोश्रो जनआन्दोलनपछिका पहिलो ६४ सालको चुनावमा तत्कालिन माओवादीका किरन राइले जितेको क्षेत्रमा ७० सालमा पूर्व पन्च समेत रहेका एमालेका कृष्णकुमार राईले जितेका थिए । 

यसरी वाम मात्रैले जित निकाल्दै आएको धरानको विगत जस्तै एमालेबाट मात्रै प्रत्यक्ष चुनाव जितेको विगत छ अशोक राईको । 

२०४८ र ५१ सालमा एमालेबाट खोटाङमा संसदीय चुनाव लडेका अशोक राईले दुवैमा जित निकाले । २०५६ सालमा एमाले फुटेर बनेको मालेबाट चुनाव लडेका राईले चुनाव हारे ।

यस्तै माओवादीको चरम लोकप्रियता भएको २०६४ को चुनावमा भने राई उदयपुरबाट पराजित भएका थिए । २०७० सालमा एमाले फुटाएर बनेको संघीय समाजवादी पार्टीमा भने समानुपातिकमा बसेर अशोक राईले आफ्नो संविधानसभा सदस्य सिट जोगाएका थिए । 

कस्तो होला अशोक राईको राजनितिक भविष्य?

राई हालसम्म कुनै भ्रष्टाचार प्रकरणमा मुछिएका छैनन् । कसैलाई बिझ्ने असभ्य भाषण पनि अशोक राईले गर्दैनन् । तर, लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भएको समयमा संसदीय व्यवस्था मन्त्री र राजा कालमा एमालेले प्रतिगमन आधा सच्चियो भनेर मन्त्रीमण्डलमा प्रवेश गरेको समयमा राई स्वास्थ्य मन्त्री समेत भएका थिए ।

पार्टीको प्रोफाइलमा पनि उनी माले र एमालेमा हुँदै पनि शक्तिशाली थिए । मालेका स्थायी समिति सदस्य र एमालेका वैकल्पिक पोलिटब्युरोबाट २०६५ सालको वुटवल अधिवेशनबाट सिधै उपाध्यक्ष भएका राईले सबैभन्दा धेरै मत पनि पाएका थिए ।

१२८ मतले केपी ओलीलाई हराएर ९४३ मत ल्याएर एमाले अध्यक्ष भएका झलनाथ भन्दा धेरै मत राईले ल्याएका थिए । १ हजार २ सय १ मत ल्याएर अशोक राई सबैभन्दा लोकप्रिय बिजेता थिए । 

२०६९ सालमा एमालेले ‘पहिचान’ अस्विकार गरेको आरोप लाँउदै अशोक राईले संघिय समाजवादी पार्टीको स्थापना गरेका थिए । समाजवादी पार्टी स्थापनाको धेरै समय नवित्दै २०७२ साल जेष्ठ ३२ गते राईले आफ्नो पार्टीको एकिकरण उपेन्द्र यादव नेतृत्वको मधेशी जनआधिकार फोरमसँग गरे । 

त्यो एकिकरण पनि कुनै बेला एमालेकै जुनियर कार्यकर्ता रहेका उपेन्द्रलाई राईले अध्यक्ष स्विकार गरे । 

समाजवादी पार्टी अध्यक्ष हुँदा कांग्रेस र एमालेलाइ पहिचान विरोधी भन्दै हरेक सभामा भाषण गर्ने राई आज आफै कांग्रेस  गठबन्धनबाट चुनावी उम्मेदवार छन् ।

एमाले र मालेमा रहँदा धरान क्षेत्रमा बलियो वामपन्थी आधार इलाका  बनाउन धरान आउने राई आज लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएर चुनावमा छन् ।

यो पटक दबाबमा आएर हतारमा राईले धरान छानेको समाजवादी फोरमकै नेताहरुले बताँउछन् । समानुपातिकमा बसेर पार्टीको चुनावी कमाण्ड नेतृत्व गर्ने सोचेका राईलाइ मधेशी मुलका समाजवादी फोरम नेताहरुले प्रत्यक्षमा नै उठ्न दबाब दिएको राई निकट समाजवादी फोरमको विद्यार्थी संगठनका एक नेता बताँउछन ।

पहाडका हेभिवेट चाहि समानुपातिक बस्ने तर मधेशका भने प्रत्यक्ष चुनाव लढ्ने कुरा अस्विकार हुने भन्दै राईलाइ प्रत्यक्ष चुनाव लढ्न दबाब बढेको  विद्यार्थी नेताले बताए । 

यसरी  विभिन्न तीन पार्टीमा राजनीति गरेका राइको यो छैठौं चुनावी उम्मेदवारी हो । जसमा उनले ३ पटक एमाले, १ पटक माले र १ पटक समाजवादी पार्टीको उम्मेदवार भएर चुनावमा  जित र हारको स्वाद लिइसकेका छन् ।

अशोक राइलको यो चुनावी जित÷हारले उनको आगामी संसदीय र राजनीतिक भविष्यको उचाई कता पुग्ने भन्ने छिनोफानो हुने उनकै पार्टीका नेताहरुले बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्