
गत संसदीय निर्वाचनमा एमालेबाट चुनाव लडेका पूर्वआईजीपी सर्वेन्द्र खनालले आफू अब कुनै पार्टीमा आबद्ध नरहेको बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै खनालले आफूले स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको उल्लेख गरेका छन् ।
‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन’, खनालले लेखेका छन्, ‘म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्यहरू गरिरहने छु ।’
खनाल २०७९ असोज ६ गते एमाले प्रवेश गरेका थिए । त्यसपछि मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवारी दिएका थिए ।
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भए भने ८ हजार ९११ प्राप्त गरेका थिए ।
पछि २०८० वैशाखमा तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले एमालेको तर्फबाट उम्मेदवारी दिए । तनहुँ-१ मा पनि रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग खनाल पराजित बन्न पुगे ।
वाग्लेले ३४ हजार ९१९ मत ल्याउँदा खनाल ८ हजार ४८८ मत ल्याए तेस्रो भए ।
खनालले २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।