२५ असार २०८३, बिहीबार
जनार्दनको फरक मत

माओवादी फेरि कर्मकाण्डी बन्न खोजेकोमा जनार्दनको आपत्ति

पुस २१, २०८१
काठमाडौं
माओवादी फेरि कर्मकाण्डी बन्न खोजेकोमा जनार्दनको आपत्ति
फाइल फोटो

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले केन्द्रीय कमिटी बैठकलाई कर्मकाण्डी बनाउन खोजेकोप्रति आपत्ति जनाएका छन् । नेतृत्वले पार्टीमाथि देखिएका चुनौतीलाई सम्बोधन गर्न बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

पार्टी नेतृत्वले ६ महिने जागरण अभियानलाई प्राथमिकता दिँदै आन्तरिक विवादसहितका विषयलाई बेवास्ता गरेको भन्दै शर्माले आपत्ति जनाएका हुन् ।

‘स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीका लागि एजेन्डा प्रस्तुत गरिएको, स्थायी कमिटी सदस्यले आफ्ना सुझाव प्रस्तुत गरेको र केन्द्रीय कमिटीमा छलफल बहसपश्चात निष्कर्षमा पुग्ने अध्यक्षले उद्‌घोष गर्नुभएको बाहेक कुनै निर्णय नभएकोमा, कतिपय सञ्चार माध्यममा स्थायी कमिटीको निर्णय भनी आएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ शर्माले आइतबार सामाजिक सञ्जालमा लेखेका छन् ।

यस अघिको स्थायी कमिटी बैठकमा १४ पृष्ठको फरक मत राखेका जनार्दन थाती राखिएका संगठनका विषयलाई प्राथमिकता दिएर छलफल गर्नुपर्ने पक्षमा छन् । तर नेतृत्वले अभियानसहितका विषयमा मात्रै छलफल गर्ने तर आन्तरिक असन्तुष्टिबारे तत्काल केही नबोल्ने निर्णय गरेपछि शर्माले असन्तुष्टि जनाएका हुन् ।

शर्माको असन्तुष्टिपछि आइतबार केन्द्रीय कमिटीको बैठक अघि माओवादीले पुनः स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले बैठकको उद्‌घाटनपछि समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने, सबै प्रदेश अध्यक्षले रिपोर्टिङ गर्ने र त्यसपछि अध्यक्षले राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी दिए ।

शर्माको फरक मतको चेतावनीपछि माओवादीले संगठनात्मक सिद्धान्तबारे छलफल हुने जनाएको छ ।

‘विचारको विकास गर्ने, परिमार्जन गर्ने, नयाँ राजनीतिक कार्यदिशासहित, यथास्थितिलाई सिफ्ट गर्ने, क्रमभंग गरेर नयाँ दिशामा जाने पक्षमा माओवादी छ,’ सापकोटाले भने, ‘संगठनात्मक विषयमा केन्द्रीय कमिटी बैठक बढी केन्द्रित हुनेछ ।’

तर उपमहासचिव शर्मा विशेष महाधिवेशन गर्नको लगि वर्तमान केन्द्रीय कमिटी भंग गरेर अध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने प्रस्तावमा छन् । अब अध्यक्ष प्रचण्डसहितका नेता पार्टीमा संरक्षक बन्नुपर्ने, निर्वाचन प्रत्यक्ष गर्नुपर्ने, युवा र नयाँ पुस्तालाई पार्टीमा अवसर दिनुपर्ने फरक मत राख्दै आएका छन् ।

गत स्थायी कमिटी बैठकमा १४ पृष्ठको लिखित प्रस्ताव राख्दै शर्माले पार्टी अब परम्परागत हिसाबमा नचल्ने बताएका थिए ।

यस अघि आफूले राखेको प्रस्तावलाई पन्छाउने काम गरे मान्य नहुने चेतावनी शर्माले दिएका थिए ।

त्यसैले बैठक बस्नुपूर्व स्थायी कमिटीको बैठक राख्दै माओवादीले विचारको विकास गर्ने, यथास्थितिलाई सिफ्ट गर्ने र नयाँ कार्यदिशामा जाने निर्णय गरेको छ ।

तर अध्यक्षले राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनसहितको आफ्नो मागलाई सम्बोधन गर्ने गरी विषय नल्याए त्यसलाई नमान्ने चेतावनी शर्माले दिएका छन् ।

पार्टी अभियान घोषणा गरिए पनि संगठनका समस्यालाई सम्बोधन गर्ने गरी तत्काल कार्यक्रम अगाडि सार्नुपर्ने पक्षमा शर्मा देखिएका छन् ।

तर पार्टी नेतृत्वले आन्तरिक विवादभन्दा जनताबीच अभियान लिएर जाने विषयलाई मात्रै मुख्य प्राथमिकता दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्