
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले पदमै रहँदा १६ वटा चेकबाट स्वर्णलक्ष्मीलाई ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।
गोरखा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ बाट जारी भएको चेकमा रवि आफैंले हस्ताक्षर गरेर स्वर्णलक्ष्मीलाई भुक्तानी गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।


जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रविसहित ३९ जनाविरुद्ध अभियोजन दायर गर्दा उक्त तथ्यलाई प्रमाणका रूपमा समावेश गरिएको छ । २०२१ अप्रिल २३ देखि २०२२ मे ३१ सम्ममा रविले १६ चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेका हुन् ।
गोरखा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ मा स्वर्णलक्ष्मीबाट सिधै २ करोड ६५ लाख रुपैयाँमध्ये २ करोड ४० लाख रुपैयाँ रवि प्रबन्ध निर्देशक हुँदा जम्मा भएको तथ्य समेत मिसिलमा पेश गरिएको छ ।

सन् २०२१ जुलाई १५ मा स्वर्णलक्ष्मीबाट गोरखा मिडियाको ग्लोबल आईएमईको खातामा एक करोड १५ लाख, सोही वर्ष सेप्टेम्बर २९ मा ५० लाख र नोभेम्बर १७ मा ४० लाख रुपैयाँ जम्मा भएको तथ्य अभियोजन पत्रमा उल्लेख गरिएको छ ।
अभियोजन पत्र अनुसार ग्लोबल आईएमईको खाता नम्बर ००४०१०१००००५७७ बाट सन् २०२० नोभेम्बर १९ देखि २०२२ जुलाई २४ को बीचमा रविको हस्ताक्षरबाट जारी भएको ८२० थान चेकमा ४९ करोड १८ लाख ४१ हजार २४६ रुपैयाँ सहकारीका पीडितहरूको रकम रहेको र यसमा रवि जानकार हुँदाहुँदै गोरखा मिडियाको बैंक खातामा रकमान्तर गरेर ठगी गरेको उल्लेख छ ।
३९ प्रतिवादी, सवा अर्ब बिगो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दर्ता गरेको अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित उनका पार्टनर एवं गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।
अदालतका स्रेस्तेदार रामु शर्माले सरकारी वकिल कार्यालयको अभियोजन पत्र दर्ता भएको जानकारी दिए । रकम अपचलनमा संलग्न रहेको आरोपमा माओवादी विद्यार्थी नेता दीपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रतिवादी बनाइएको छ ।
स्वर्णलक्ष्मीमा पाँच हजार ६६९ जना बचतकर्ताले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार रूपैयाँ जम्मा गरेको पाइएको छ । कालिमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मीको शाखाहरू न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा समेत सञ्चालनमा थिए । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कमा एक करोड ८२ लाख लगेर अपचलन गरेको पाइएको छ ।
स्वर्णलक्ष्मीबाट रवि र जीबीको संयुक्त नाममा जारी भएको ऋणमा ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको छ ।
स्वर्णलक्ष्मीबाट जीबीले सञ्चालन गरेको हर्बो इन्टरनेशनल प्रालिसहित १२ वटा कम्पनीहरूमा समेत ऋण प्रवाह भएको देखिन्छ ।
देवदीप एग्रिकल्चर, मन्दरा टुर्स एण्ड एक्सपिडिसन, गोरखा हर्वल प्रोडक्सन, मन्दरा टुर्स एन्ड ट्राभल्स, कुमकुम हर्वल उद्योग, न्यु सुलक्स अफसेट, गोरखा ग्रुप अफ कम्पनिज, सारेगामा रेकर्डस् र भगवती बालुवाखानीसहित १२ वटा कम्पनीमा ६४ करोड भन्दा बढी ऋण प्रवाह गरेको अभियोजनपत्रमा उल्लेख छ ।