
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले आवश्यक ध्यान दिन नसक्दा द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न नसकेको निष्कर्ष राजनीतिक प्रतिवेदनमा समावेश गरेका छन् ।
एमाले केन्द्रीय समितिको ८ औं बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएका ओलीको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट निकालिएको निष्कर्ष उद्धृत गर्दै ओलीले लेखेका छन्– ‘भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएका छन् । सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा पुगेको छ । बिमस्टेक कामकाजी बन्न सकेको छैन । गरिबी निवारण, जलवायु परिवर्तन र अन्तर राज्य अपराध रोक्न आवश्यक पर्ने क्षेत्रीय सहकार्यको अभावप्रति हामी चिन्तित छौं । छिमेकी देशहरूको सार्वभौमसत्ता, संवेदनशीलता र सरोकारलाई भारतले आवश्यक ध्यान दिन नसक्दा उसँग यस क्षेत्रका देशहरूको द्विपक्षीय र बहुपक्षीय साझेदारी अपेक्षित मात्रामा अगाडि बढ्न सकेको छैन । नेपालको भारतसँग रहेका सीमा, १९५० को सन्धि, व्यापार घाटा लगायतका विषयहरू अझै पनि थाती रहेका छन् ।’
‘बदलियो विश्व परिवेश, भूराजनीति र हाम्रो परराष्ट्र नीति’ शीर्षकको च्याप्टरमा उपयुक्त निष्कर्षहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका ओलीको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले चीनसँग गरिएको बीआरआई सहयोग ढाँचा सम्झौताको विशेष महत्व रहेको उल्लेख गरेका छन् । ‘यो सम्झौता आफैंमा महत्त्वपूर्ण छ । तर, यावत भ्रम, मिथ्या प्रचार र असहजतालाई चिर्दै यस विषयमा मुलुकका दुई प्रमुख दलका बीचमा जस्तो साझा अवधारणा निर्माण हुन सक्यो, यो विषय पनि उत्तिकै महत्त्वपूर्ण छ ।’
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विश्व राजनीतिलाई तरंगित गरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘नयाँ राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै अमेरिका कसरी अगाडि बढ्छ भन्ने कुराको प्रभाव विश्व राजनीतिमा गहिरो गरी पर्नेछ । संरक्षणवादले नयाँ ढंगको व्यापार युद्ध र आपूर्ति शृङखलामा अवरोध सृजना हुन सक्नेछ,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘अमेरिका चीन तनावको प्रभाव नेपालमा कस्तो पर्छ भन्ने कुरालाई पनि हामीले सूक्ष्म ढंगले अध्ययन–विश्लेषण गर्नुपर्छ ।’