०८ असार २०८३, सोमबार
कांग्रेसको आन्तरिक राजनीति

कांग्रेस महाधिवेशन समयमै गर्न केले रोक्यो ?

पुस २२, २०८१
काठमाडौं
कांग्रेस महाधिवेशन समयमै गर्न केले रोक्यो ?

यदा यदा हि धर्मस्य, ग्लानिर्भवति भारत,​
अभ्युथानम धर्मस्य, तदात्मानं श्रृजाम्यहम् । – वासुदेव श्रीकृष्ण, भागवत गीता

'जब–जब धर्मको विनास वा हानी भएर अधर्म बढ्नेछ, तब–तब म धर्मको रक्षार्थ प्रकट हुनेछु । ' माथिका बहुमूल्य अमर वाणीको बहुआयामिक अर्थ छ भन्ने हामी सबैलाई थाहा छ । अझ कलियुग उत्कर्षतर्फ बढिरहेको वर्तमान समयमा त उपरोक्त उद्घोष कालजयी लाग्छ । हाम्रो राजनीतिक सन्दर्भमा समेत थोरबहुत मेल खान्छ ।

नेपाली कांग्रेस आफ्नो १५औं महाधिवेशन सम्पन्न गराउनुपर्ने अन्तिम समय सीमातर्फ अग्रसर भइरहेको छ, अर्थात् चौथो वर्षमा प्रवेश गरिसकेको छ । पार्टीको विधानअनुसार देशमा वा पार्टीमा असामान्य अवस्था नआएमा यो वर्ष पार्टीको महाधिवेशन आयोजना हुनै पर्छ । देश र पार्टीमा समेत हालसम्म कुनै प्रतिकूलता वा बिशेष अवस्था छैन र तत्काल त्यस्तो सम्भावना पनि देखिँदैन । पार्टीका आमसदस्यको चाहना र समयको आवश्यकता पनि यही छ कि समय मै महाधिवेशन होस् ।

गत वर्ष सम्पन्न महासमिति बैठकको उद्घोष, प्रतिबद्धता र निर्णय पनि यही थियो । यो सांगठनिक आवश्यकता पनि हो र राष्ट्रिय आवश्यकता पनि । र, हाम्रा नेताहरूले विगतमा गरेको संकल्प पनि यही हो कि आगामी महाधिवेशन समयमै गरिनेछ । तर, अहिलेसम्म यसको कुनै सुरसार छैन र हिजोआज त जिम्मेवार नेताहरूको स्वर फेरिन समेत थालेको छ । महाधिवेशन गराउने कुनै अग्रसरता देखिएको छैन । यसले कांग्रेस पुनः एकपटक परम्परागत पदचिह्नमा हिँड्ने त होइन, भन्ने चिन्ता,आशंका र सम्भावना बढेको छ । यसले पार्टी सदस्यहरूमा निराशा, तनाव र आक्रोश समेत बढाएको छ ।

हामीले एउटा कुरा छर्लंग बुझ्नुपर्छ, राजनीति भनेको जे बोल्न पनि पाइने र जे गर्न पनि मिल्ने अराजक क्षेत्र होइन । तर, नेपालमा यस्तै हुने गरेको छ, जसको मारमा नेपाली जनता परिरहेका छन् । यतिबेला त नेपालमा यस प्रवृत्तिको चरमोत्कर्ष छ । र, नेपाली राजनीतिले क्रमिकरूपमा साख र विश्वसनीयता गुमाउँदै गएको छ । कसलाई विश्वास गर्ने र कसप्रति भरोसा गर्ने, यकिन हुन छाडेको छ । राजनीतिक दलका नेताहरू वैयक्तिक स्वार्थमा यति धेरै केन्द्रित भएका छन् कि आफ्नो दल तथा समाजप्रतिको कर्तव्य नै बिर्सन थालेका छन् । नेपालका नेताहरूको ध्यान आफ्नो दुनो सोझ्याउनमै केन्द्रित छ । राजनीतिलाई भजाएर आफ्नो अभीष्ट पूरा गर्ने प्रवृत्ति बढेको छ ।

हामी सबैले बुझ्नुपर्छ कि औसत नेता प्रधानमन्त्री बन्न सक्छ । राष्ट्रपति र दलको सभापति पनि बन्नसक्छ । तर, राजनेता बन्न सक्दैन । यस्ता औसत नेताबाट जनता र राष्ट्रको कल्याण कदापि हुन सक्दैन । र, उसले आफ्नो दलको बहुमूल्य सम्पदा समेतलाई जोगाउन सक्दैन । नेपाली कांग्रेसका आफ्ना खास मौलिक सम्पदाहरू छन्, जसलाई जोगाएर अघि बढ्नु दलका प्रमुख नेताहरूको मुख्य दायित्व हो । आफ्ना पुराना उपलब्ध सम्पदाहरू खर्चिँदै जाने तर, नयाँ सम्पदा नजोड्ने हो भने एकदिन सम्पदाको भण्डार रित्तिन्छ । त्यसपछि के गर्ने र के भजाउने ? यसमा हाम्रो नेतृत्वको ध्यान पुगेको छ त ? गम्भीर चिन्ताको विषय छ ।

नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन समयभित्र नगर्नुपर्ने ठोस कारण के हो त ? यसको जवाफ जिम्मेवार नेताहरूले दिनुपर्छ कि पर्दैन ? कि नदिने ? हामी सबैले गत महासमिति बैठकमा २०८२ मंसिरभित्र महाधिवेशन गर्ने प्रस्तावलाई एकमत भएर पारित गरेको हो कि होइन ?

नेपालमा कायम रहेको जहानियाँ राणातन्त्रको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने महान् उद्देश्यले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना आफैंमा असाधारण क्रान्तिकारी कदम थियो । र, त्यतिबेलादेखि आजपर्यन्त नेपाली कांग्रेस विशिष्ट राष्ट्रिय सम्पदाको रूपमा स्थापित छ । तर, दलको बागडोर सम्हालेका नेताहरूलाई आत्मबोध छ कि छैन– कांग्रेसको राजनीतिक विचारधारा, यसले अनवरत गरेको संघर्षको लामो शृंखला, आजसम्मको राजनीतिक विकासक्रम र उपलब्धि, यसको संस्थागत व्यक्तित्व र राष्ट्रिय/अन्तर्राष्ट्रिय पहिचान, आठदशक लामो इतिहासमा जीवन गुमाउने प्रातः स्मरणीय शहीदहरू, त्याग र संघर्षको दौरान सर्वस्व गुमाउने अग्रजहरू र फराकिलो छहारी भएर बसेको नेतृत्व हाम्रा बहुमूल्य सम्पदा हुन् । प्रजातान्त्रिक शासन प्रणाली र यसप्रतिको गहिरो निष्ठा हाम्रो मूल चरित्र र विशेषता हो ।

हामीलाई हेक्का छ कि छैन– हामीलाई सचेत नेपालीहरूले प्रश्न गर्न थालेका छन् । आजको पार्टी नेतृत्व आमनेपाली जनताको छहारी बन्न सकेको छ कि छैन? कम्तीमा पार्टीका सम्पूर्ण सदस्यको साझा छहारी बनेको छ त ? कि दलभित्रको सानो झुन्ड वा स्वार्थ समूहको संरक्षक मात्र बनेको छ ? आजको खुला प्रश्न हो यो । देश र जनता, राजनीतिक प्रणाली र आफ्नो संस्था केन्द्रविन्दुमा छन् कि सत्ता स्वार्थ मात्र ? आज छलफल चलाउनुपर्ने भएको छ । हामी महाधिवेशनउन्मुख हुँदै जाँदा राष्ट्रव्यापी बहसको प्रमुख एजेन्डा यही हुनुपर्छ र हुनेछ । र, यस सन्दर्भमा कसैप्रति मोलाहिजा राखिने छैन । हाम्रा अग्रजहरूले हाम्रा लागि छाडेर गएको राजनीतिक पुँजी र सम्पदा सिध्याएर आउने पुस्ताका लागि केही पनि बाँकी नराख्ने अधिकार हामीसँग छ कि छैन ? अबको महाधिवेशनले यसको छिनोफानो गर्नुपर्छ । खासगरि नयाँ पुस्ताका साथीहरू यस विषयमा गम्भीर र सचेत हुनुपर्छ ।

महाभारतमा एउटा प्रसंग छ, कृष्ण–गान्धारी संवाद । लडाइँ जितेर गौरवान्वित बनेका वासुदेव श्रीकृष्ण र प्रियजन गुमाएर व्यथित एवं व्याकुल भएकी गान्धारीबीचको संवाद मार्गदर्शक,यूगीन र कालजयी छ । जब गान्धारी कृष्णलाई आक्रोशपूर्ण प्रश्न गर्छिन्, हे कृष्ण तिमीले यत्रो युद्ध किन गरायौ, कुरु वंशलाई सखाप किन पार्‍यौ, मेरा प्रिय छोराहरूको प्राण किन लियौ, यत्रो लीला किन रच्यौ ? तब कृष्ण विनम्रतापूर्वक तर बडो स्पष्ट जवाफ दिन्छन्, 'हे महारानी सुन, जब राजनीति गर्नेहरू आफ्नो कर्तव्य र उत्तरदायित्वप्रति गम्भीर र संवेदनशील हुदैँनन्, तब सरोकारवालाले प्रतिवाद गर्छ र त्यो प्रतिवाद अन्ततः विद्रोहमा परिणत हुन्छ, महाभारतमा यही भएको हो ।'

वास्तवमा महाभारत घट्नुको चुरो यही थियो । यसमा दुर्योधनको अति महत्त्वाकांक्षा,कर्णको दुर्योधनप्रतिको अन्ध निष्ठा र धृतराष्ट्रको पुत्रमोहले बलियो जग हालेको थियो । राज्यका अधिपति भएर बसेका कौरवहरूले जब पाण्डवहरूमाथि घोर अत्याचार गर्न थाले, १२ वर्ष वनबास, १ वर्ष अज्ञातबास, लाक्षागृहको रचना र जिउँदै डढाउने योजना, द्युत क्रीडा, द्रौपदी चीरहरण र अन्ततः राज्यको हरण समेत गरेपछि युद्ध अवश्यम्भावी बन्यो, जसले धर्म र न्यायको पक्षमा निर्मम तथा ऐतिहासिक फैसला गर्‍यो । ५२ सय वर्षअघिको त्यो घटना र कृष्णको निष्कर्ष आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ । आधुनिक राजनीतिमा त्यसका सानाठूला संस्करणहरू थपिएका छन् । नेपाल यसको अपवाद छैन । कांग्रेसभित्र पनि यसको मञ्चन भइरहेको छ र जसले पूरा समाजलाई नराम्ररी प्रभावित गरेको छ ।

नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशन समयभित्र नगर्नुपर्ने ठोस कारण के हो त ? यसको जवाफ जिम्मेवार नेताहरूले दिनुपर्छ कि पर्दैन ? कि नदिने ? हामी सबैले गत महासमिति बैठकमा २०८२ मंसिरभित्र महाधिवेशन गर्ने प्रस्तावलाई एकमत भएर पारित गरेको हो कि होइन ? हो भने हिजोआज त्यसको अग्रसरता खोइ ? महाधिवेशनपछिको पार्टीको उच्च निकायले गरेको सर्वसम्मत निर्णयलाई बेवारिस बनाउने अधिकार को–कोसँग छ ? पार्टीका झण्डै नौलाख सदस्यहरूको भावनामाथि खेलबाड गर्न पाइन्छ र ? पार्टीलाई कहिलेसम्म तदर्थवादमा चलाउने ? के यस्तो मनोमानीलाई हरेक सदस्यले मानिरहनु पर्ने ? सहेर बस्नुपर्ने ?

१४ औं महाधिवेशन सम्पन्न भएयता ३ वर्ष व्यतीत भएछ । यस अवधिमा पार्टीमा के–के सुधार भयो ? नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृसंगठनको हालत के छ ? अरू भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूको हबिगत के छ ? पहिलो कुरा त विधान मिचेर तदर्थ समिति बनाउने अधिकार कसले दियो ? यसमा जिम्मेवार को–को हो ? पार्टीका अवयवहरू के कस्तो अवस्थामा चलिरहेका छन् ? यसका लागि जिम्मेवार को ? जवाफ कसले दिने ? पार्टीका सदस्यहरूलाई जवाफ चाहिएको छ । यसको जवाफ दिन नसक्ने पात्र वा प्रवृत्तिले आगामी महाधिवेशनको नेतृत्व गर्न सक्दैन भन्नेमा दुईमत हुन सक्दैन ।

वर्तमान चुनौतीलाई अर्थात् पार्टीको अस्तव्यस्ततालाई यथावत राखेर भविष्य ठीक हुनेछ भन्दै हिँड्नु वकवास शिवाय केही हुन सक्दैन । अर्को कुरा, जिम्मेवार भूमिकामा बसेर वादविवादमा उत्रन र दन्तबझान गर्दै हिँड्न हामीलाई कति सुहाउँछ ? तसर्थ, आजको एकसूत्रीय आवश्यकता समयमै पन्ध्रौं महाधिवेशन हो । यसको तयारी समयमै प्रारम्भ गर्नुपर्छ । यदि त्यसो नहुने हो भने सानोतिनो महाभारत त घट्छ नै । यसको जिम्मा सम्बन्धित नेताहरूले लिनुपर्ने छ ।

विधिको शासन स्थापनाका लागि आठ दशक लामो लडाइँ लडेको कांग्रेसले आफ्नो पार्टी नै विधिपूर्वक नचलाउने हो भने हामीमाथि उठेका अनगिन्ति प्रश्नहरूको जवाफ कसरी दिने ? इतिहासले हम्मेसि यस्तो सुनौलो मौका दिँदैन, दुनियाँलाई जवाफ दिनका लागि । अहिले हामीसँग सहज र अनुकूल समय छ र दुनियासमक्ष राम्रो गरेर देखाउने मौका छ । अनि हामी किन चुक्ने ?

कांग्रेसले समयमा महाधिवेशन गर्दैन, नियमित बैठक राख्दैन, विधानको व्यवस्थालाई पालना गर्दैन, भ्रातृसंगठन राम्रोसँग चलाउँदैन, सरकारमा गएपछि कार्यसम्पादन गतिलो हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ । यसमा हामी आफैं प्रमुख कारण छौं । विधिको शासन स्थापनाका लागि आठ दशक लामो लडाइँ लडेको कांग्रेसले आफ्नो पार्टी नै विधिपूर्वक नचलाउने हो भने हामीमाथि उठेका अनगिन्ती प्रश्नहरूको जवाफ कसरी दिने ? इतिहासले हम्मेसि यस्तो सुनौलो मौका दिँदैन, दुनियाँलाई जवाफ दिनका लागि । अहिले हामीसँग सहज र अनुकूल समय छ र दुनियाँसमक्ष राम्रो गरेर देखाउने मौका छ । अनि हामी किन चुक्ने ? महाधिवेशनका लागि क्रियाशील सदस्यहरू प्रारम्भिक एकाइ हुन् । समयमै नवीकरण गरेर नयाँ वितरणलाई समेत विधिसम्मत अघि बढाउने हो भने समयमा महाधिवेशन गर्न केले रोक्छ ?

पार्टीको काम राम्रो गर्ने हो भने बाहिर गफ गर्न पनि सुहाउँछ । पार्टीको काम लथालिंग छाडेर जगहँसाई गर्न हामीलाई शोभा दिँदैन । १४औं महाधिवेशनपश्चात् पार्टीभित्र कहाँ–कहाँ सुधार भयो ? विधान पालनामा, भ्रातृसंगठन सञ्चालनमा, अस्वस्थ गुटबन्दीमा, प्रतिस्पर्धी समूहलाई दुर्व्यवहार गर्नमा र पार्टीका होनहार साथीहरूलाई अपमान गर्नमा के–के मा सुधार भयो ? यस अवधिमा पार्टीमा कति नयाँ तरुण विद्यार्थीले सदस्यता लिए ? यसको समीक्षा गर्ने कि नगर्ने ? यतिबेला कांग्रेसका सदस्यहरूले ठूल्ठूला ओहोदा खोजेका छैनन् । आफ्नो पार्टी राम्रो चलोस्, संगठन सुदृढ होस्, सबै गुनासाहरू मेटिऊन, बिग्रेको छविमा सुधार होस् भन्ने मात्र हो । पार्टीका हजारौं सदस्यहरूलाई धरधरी रुवाएर ठूल्ठूला ओहोदा लिनुको केही अर्थ छैन । पार्टीमा अधर्म र अन्याय बढ्यो भने पार्टी सदस्यले कडा प्रतिवाद गर्छ र यस्तो प्रतिवाद विद्रोहमा परिणत हुन सक्छ भन्ने सबैले हेक्का राख्नुपर्छ ।

अब पर्खिने समय छैन । देश र पार्टीका लागि सम्पूर्ण जीवन दिएका सदस्यहरूले कतिञ्जेल धैर्य राख्ने ? पार्टी कसैको निजी उद्यम होइन, न त कसैको घरेलु वा पारिवारिक मामिला हो । नेताको मनोगत चाहनाले पार्टी चलाउनु प्रजातान्त्रिक चरित्र होइन । पार्टीमा मनमौजी चलाएर सदस्यलाई हप्काउनु जिम्मेवार भूमिका होइन । अब यस्तो चल्न दिइने छैन । महाधिवेशनमा एकदिन विलम्ब हुनुहुँदैन । ओरालो लागेको पार्टीको साख कसरी उठाउने ? खै चिन्ता ? आम जनताले नेताका बारेमा कस्तो टिप्पणी गर्छन्, थाहा छ कि छैन ? राम्रो काम गर्न नसके पनि पार्टी बिगार्ने अधिकार कसैलाई छैन ।

कांग्रेस न कसैको पैतृक सम्पत्ति हो, न कसैको प्रभाव क्षेत्र । कांग्रेसका सदस्यहरू कसैका खेताला होइनन् । सबैको जीवन मूल्य एकै हो । तसर्थ हामी सबैले एकआपसका मतभेद, कटुता र अस्वस्थ गुटबन्दी भुलेर अनि समयको गम्भीरता तथा भयावह स्थिति​लाई बुझेर महाधिवेशनको तयारीमा जुटौं । यसमा सबै सदस्यले साथ सहयोग गर्ने नै छन् । यसबाट नै हाम्रो सार्वजनिक छवि पनि सुध्रिन्छ र प्रतिष्ठा बढ्छ ।

salt training

कमेन्ट गर्नुहोस्