
फ्लाई दुबईको उडानबाट नेपाल आएकी एक महिलाले ल्याएको अवैध सुन लुटेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भन्ने मिनसाङ लामा तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने २२ वर्षीय लाल बहादुर तामाङ रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा पुस १४ गते नेपाल आएकी महिलाले लेसिलो स्वरूपमा प्याड जस्तो आकार बनाई भित्री वस्त्रमा लुकाई छिपाई ल्याएको अवैध सुन अपरिचित व्यक्तिहरूले लुटी लगेको भन्ने सूचनापछि प्रहरीले खोजी थालेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ४३६.०१० ग्राम सुन, मोबाइल ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।