०७ साउन २०८३, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन ‘ट्याक्सी वे’को अवलोकनमा पुगे मन्त्री पाण्डे

पुस २२, २०८१
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन ‘ट्याक्सी वे’को अवलोकनमा पुगे मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका छन् । 

पर्यटनमन्त्रीसहितको टोलीले सोमबार  विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अनुगमन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तारको काममा सन्तोषजनक प्रगति भइरहेको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि तीनवटा ठेक्का सम्झौता गरेर काम सञ्चालन भइरहेकाले तोकिएकै समयमा काम सम्पन्न हुने बताए । 

मन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समय आगामी चैत १८ गतेभित्रै काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे। 

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्