
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मंगलबार बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमानामा पर्ने दिंगे काउन्टी भएको खुलेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सो स्थान भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा काठमाडौं उपत्यकासहित आसपासमा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौंबासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सात दिने स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले उनलाई सोधेको यो तेस्रो स्पष्टीकरण हो । ऊर्जा सचिव सुरेश आचार्यले सात दिनभित्र पेस गर्ने गरी सोमबार ९ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
००००
सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ ।
न्यायाधीश डा नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सोमबार सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो ।
००००
झापा जिल्ला अदालतले विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।
००००
नेपाल कम्युनिस्ट पार्टी एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।
बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले मंगलबार पनि बैठक हुने भएको हो ।
आइतबार शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
००००
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष सरहको हैसियतमा भित्र्याइएपछि माओवादीमा थप उकुसमुकुस देखिएको छ । भएकै नेताहरूले कार्यविभाजनमा असन्तुष्टि जनाइरहेका बेला पुनलाई माओवादीमा ल्याइएपछि पार्टीभित्रको उकुसमुकुस केन्द्रीय कमिटी बैठकमै प्रकट भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछिको वरियतामा पुनलाई पार्टीसमक्ष प्रस्तुत गरेका थिए । पुनलाई मञ्चमा उक्त आसन दिइएपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरूबीच खासखुस चलेको थियो । माओवादी बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल जारी छ।
००००
सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाइएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ ।
००००
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।
००००
तीन दिनदेखि झिनो अंकले बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार दोहोरो अंकले बढेको छ ।
४९ दशमलव १२ अंकले बढेर नेप्से २६४० दशमलव ६८ बिन्दुमा पुगेको हो ।
००००
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस कास्की जिल्ला अदालतमा गत जारी छ ।
शुक्रबारदेखि प्रतिवादीतर्फका कानून व्यवसायीको बहस शुरू भएकोमा सोमबार सभापति लामिछाने पक्षका कानून व्यवसायीहरूको बहस शुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
००००
मधेशकेन्द्रित दलहरूबीच मोर्चावन्दीका लागि सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यदल बनाएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय समितिको निर्णयानुसार दुई सदस्यीय कार्यदल बनाइएको सचिवालय प्रमुख राजेश कुमार मण्डलले बताएका छन् ।