क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार लिबरल पार्टीको नेतृत्व र प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेसँगै त्यहाँ राजनीतिक संकट पैदा भएको छ ।
उनले पार्टीले नयाँ नेता चयन गरेपछि मात्र आफ्नो राजीनामा लागू हुने बताएका छन् । ट्रुडोले आफ्नो ९ वर्षे प्रधानमन्त्री कार्यकाल र ११ वर्षे पार्टी नेतृत्वबाट बिदा हुने निर्णय सुनाउँदै भने, 'म आन्तरिक राजनीतिक मैदानमै व्यस्त हुनेछु । आगामी निर्वाचनका लागि म सबैभन्दा राम्रो विकल्प होइन ।'
ट्रुडोको यो निर्णय लिबरल पार्टीको गिर्दो लोकप्रियता, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको २५ प्रतिशत आयात शुल्कको प्रस्तावले ल्याएको संकट र पार्टीभित्रकै मतभेदका कारण आएको हो ।
ट्रुडोले राजीनामा घोषणा गरेसँगै लिबरल पार्टीले नयाँ नेता चयन प्रक्रिया शुरू गरेको छ । पार्टीको राष्ट्रिय कार्यकारिणी समिति छिट्टै बैठक बसेर नेतृत्वको प्रक्रिया तय गर्नेछ । सम्भावित दाबेदारहरूमा प्रमुखरूपमा तीन नाम अगाडि छन् ।
नयाँ प्रधानमन्त्रीका लागि मार्क कार्नीलाई प्रबल दाबेदार मानिन्छ । उनी बैंक अफ क्यानडा र बैंक अफ इंग्ल्यान्डका पूर्व गभर्नर हुन् । उनी आर्थिक नीतिमा आफ्नो अनुभवका कारण लोकप्रिय छन् ।
त्यस्तै, अर्का दाबेदारका रूपमा मेलानी जोलीको नाम पनि लिने गरिन्छ । उनी अहिले परराष्ट्रमन्त्री छिन् र आफ्नो कूटनीतिक अनुभव र पार्टीको युवा अनुहारका रूपमा अगाडि आउँदैछिन् ।
त्यस्तै, पूर्व उपप्रधानमन्त्री र वित्तमन्त्री क्रिस्टिया फ्रिल्यान्ड पनि प्रधानमन्त्रीको सम्भावित अनुहारका रूपमा अगाडि देखिएकी छन् ।
उनी यसअघि ट्रुडो नेतृत्वको मन्त्रिपरिषदमा थिइन् र केही समयअगाडि असन्तोष जनाउँदै राजीनामा गरेकी थिइन् ।
ट्रुडोको राजीनामाको पृष्ठभूमि
२०१५ मा 'सनी वेज' नारासहित सत्तामा आएका ट्रुडोले शुरूआतमा जलवायु परिवर्तन, महिला अधिकार र आदिवासी समुदायका मुद्दामा काम गर्दै आफूलाई प्रगतिशील नेताका रूपमा प्रस्तुत गरे ।
तर, पछिल्ला वर्षमा बढेको आर्थिक संकट, उच्च महंगी र पार्टीभित्रको असन्तुष्टिले उनको लोकप्रियता खस्किँदै गयो । ट्रुडोले आफ्नो निर्वाचन प्रणाली सुधार गर्न नसकेकोमा आफूलाई पछुतो भएको बताए ।
राजीनामा घोषणासँगै उनले भने, 'मलाई अझै लाग्छ, हाम्रो निर्वाचन प्रणालीलाई सुधार गरी मतदातालाई प्राथमिकता दिन सक्ने विकल्प दिनुपर्थ्यो, तर यो सम्भव भएन ।'
पार्टीभित्र पनि उनले धेरैपटक चुनौतीहरू भोगे । गत वर्ष उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले राजीनामा दिँदै ट्रुडोको 'कच्चा राजनीतिक खेल'का कारण आफू असन्तुष्ट भएको बताएकी थिइन् ।
फ्रिल्यान्डले ट्रुडोको कर छुट र '२५० डलर फिर्ता'जस्ता योजनाहरूको आलोचना गर्दै यस्ता कदमले देशको आर्थिक अवस्थालाई जोखिममा पार्ने भन्दै आपत्ति जनाएकी थिइन् ।
ट्रुडो क्यानडाका पूर्व प्रधानमन्त्री पियरे ट्रुडोका छोरा हुन् । सन्, १९७१ मा जन्मिएका ट्रुडोले शिक्षा क्षेत्रमा आफ्नो करियर शुरू गरेका थिए । तर, उनी २००८ मा राजनीतिमा प्रवेश गर्दै क्यानडाको सांसद बने ।
सन् २०१३ मा ट्रुडो लिबरल पार्टीको नेता चुनिए । उनले पार्टीलाई नयाँ दिशा दिँदै युवा र प्रगतिशील सोचको पहिचान बनाउन सफल भए । ट्रुडो २०१५ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसयता लगातार उनी प्रधानमन्त्रीको कुर्सीमा छन् ।
ट्रम्पको विवादास्पद भनाइ-‘क्यानडा ५१औं राज्य’
ट्रुडोले राजीनामा दिने घोषणालगत्तै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुडो र क्यानडालाई लिएर कटाक्षपूर्ण टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै क्यानडावासीले अमेरिकाको ५१ औं राज्य बन्न मन पराउने दाबी गरेका छन् ।
'क्यानडाका धेरै मानिसले आफूलाई अमेरिकाको ५१औं राज्य मान्न मन पराउँछन् । अमेरिका अब क्यानडाको व्यापार घाटा र सब्सिडी सहन सक्दैन । यदि क्यानडा अमेरिकाभित्र गाभियो भने शुल्कको समस्या रहने छैन, कर घट्नेछ र क्यानडा पूर्णरूपमा सुरक्षित हुनेछ,' ट्रम्पको भनाइ छ ।
यसअघि ट्रम्पले प्रधानमन्त्री ट्रुडोलाई 'क्यानडाका गभर्नर' भन्दै कटाक्षसमेत गरेका थिए ।
ट्रम्पको यो भनाइले अमेरिका-क्यानडा सम्बन्धमा थप तनाव ल्याउने देखिन्छ । क्यानडामा यस टिप्पणीलाई 'अपमानजनक' भन्दै व्यापक आलोचना भइरहेको छ ।
आगामी निर्वाचन र विपक्षीको चुनौती
क्यानडामा आगामी आमनिर्वाचन २० अक्टोबरभन्दा अघि सम्पन्न हुनुपर्नेछ ।
अहिले गरिएका जनमत सर्वेक्षणहरूले पिएर पोलिएभ्रेको नेतृत्वमा रहेको विपक्षी कन्जर्भेटिभ पार्टी लिबरल पार्टीभन्दा २० प्रतिशतले अगाडि रहेको देखाएका छन् ।
पोलिएभ्रेले ट्रुडोको राजीनामाबारे टिप्पणी गर्दै 'क्यानडाका लागि नयाँ अवसर' भनेका छन् ।
एक वक्तव्यमा उनले भने, 'क्यानडालीले आफ्नो जीवन र देशलाई पुनः नियन्त्रणमा लिने समय आएको छ । सीमाना सुरक्षित गर्न, कर घटाउन, खर्च नियन्त्रण गर्न र हाम्रो स्वतन्त्रता पुनःस्थापना गर्न म सधैँजस्तो प्रतिबद्ध छु ।'
ट्रम्पको नीतिको प्रभाव र क्यानडाको भविष्य
ट्रम्पको आगामी प्रशासनले क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत थप शुल्क लगाउने प्रस्ताव गएको छ । यसले क्यानडाको अर्थतन्त्रलाई ठूलो झट्का दिने मानिएको छ । यो मुद्दा आगामी निर्वाचनमा उठ्ने र दुवै पार्टीको चुनावी रणनीतिमा गहिरो प्रभाव पार्ने त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्लेषकहरूले ट्रुडोको राजीनामा पार्टीका लागि नयाँ शुरुवातको अवसर भएको तर, ट्रम्पको कटाक्ष र पोलिएभ्रेको आक्रामक शैलीबीच लिबरल पार्टीले जनतामाझ आफ्नो प्रभाव पुनःस्थापना गर्न कठिनाइ भोग्नुपर्ने बताएका छन् ।
यस्तो छ क्यानडाको राजनीतिक व्यवस्था
क्यानडामा प्रत्येक ४ वर्षमा संसदीय निर्वाचन हुन्छ । यसलाई हाउस अफ कमन्स भनिन्छ भने यसमा ३३८ सदस्य हुन्छन् । चुनावपछि बहुमत सीट जित्ने राजनीतिक दलको नेता स्वतः क्यानडाको प्रधानमन्त्री बन्ने प्रावधान छ ।
नेपालमा जस्तै यदि कुनै दलले बहुमत (१६९ सीट) जित्न सकेन भने अन्य दलसँग मिलेर गठबन्धन गर्न सक्छ । गठबन्धन सम्भव नभए ठूलो दलले अल्पमतको सरकार पनि बनाउन सक्छ ।
उक्त सरकारले विश्वासको मत नपाए पुनः निर्वाचन हुने संवैधानिक प्रावधान छ ।
क्यानडामा प्रधानमन्त्रीको कार्यकाल निश्चित छैन । जबसम्म प्रधानमन्त्रीको पार्टीले संसदमा विश्वास गुमाउँदैन ऊ अर्को चुनावसम्म प्रधानमन्त्री रहन सक्छन् ।
सन् २०१५ को निर्वाचनमा ट्रुडो नेतृत्वको लिबरल पार्टीले ३३८ मध्ये १८४ सिट जितेको थियो । जुन स्पष्ट बहुमत थियो । लिबरल पार्टीले एक दशकपछि कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै सत्तामा फर्कने मौका पाएको थियो ।
सन् २०१९ मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले ३३८ मध्ये १५७ सिट जितेको थियो, जुन बहुमतका लागि आवश्यक १७० सिटभन्दा १३ सिट कम हो । त्यसपछि ट्रुडो अल्पमत सरकारको प्रधानमन्त्री बने ।
राजनीतिक अस्थीरताका कारण २ वर्षमै पुनः आमनिर्वाचन भयो । सन् २०२१ मा भएको पछिल्लो निर्वाचनमा पनि लिबरल पार्टीले १५७ सिट नै जितेको थियो, ट्रुडो पुनः अल्पमतको प्रधानमन्त्री बनेका थिए ।
अल्पमतको प्रधानमन्त्री बनेपनि संसदबाट उनले विश्वासको मत जितेका थिए । तर, पछिल्लो समय आफ्नो पार्टीभित्रै संकट बढेपछि उनले राजीनामा दिएर मार्ग प्रशस्त गरेका हुन् ।
स्पष्ट बहुमत नभए पनि लिबरल पार्टी सबैभन्दा ठूलो पार्टी भएकाले आगामी प्रधानमन्त्री पनि सोही पार्टीबाटै चुनिने छन् ।