
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । एमालेविरुद्ध भइरहेको घेराबन्दीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरिरहेको उनले आरोप लगाए ।
आठौं केन्द्रीय कमिटी बैठकलाई मंगलबार पार्टी कार्यालयमा समापन गर्दै ओलीले प्रचण्ड एमालेविरुद्धको षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् ।
राजनीतिक प्रतिवेदनमा पनि ओलीले प्रचण्डले दाउपेचको राजनीति गरेको आरोप लगाएका थिए ।
‘प्रचण्ड नेतृत्वको सरकारले देशका संकट पार लगाउन नसकेपछि नयाँ सरकार गठनको स्थिति बन्यो, त्यही दिनदेखि उनी हामीविरुद्ध लागिपरेका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘पार्टी विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ, त्यसको नेतृत्व प्रचण्डले गरिरहेका छन् ।’
ओलीले एमालेविरुद्ध भएका षड्यन्त्रको सामना गर्नै बताए । ‘विगतमा पनि पार्टीविरुद्ध यस्तै घेराबन्दी भएका थिए, हामीले विगतमा पनि सामना गरेका हौं, अहिले पनि डटेर सामना गर्छौं,’ ओलीले बैठकमा भने । पार्टीले नेतृत्व गरेको सरकारविरुद्ध आन्दोलन भड्काउने प्रयास भइरहेको पनि उनले बताए ।
ओलीले नेपाली कांग्रेससँगको सत्ता सहकार्य सहज ढंगले अगाडि बढिरहेको बताए । ‘जुन उद्देश्य र लक्षका साथ कांग्रेससँग सरकार बनाएका थियौं, गरिएका प्रतिबद्धता पूरा गर्न हामी लागि परेका छौं,’ ओलीले भने ।
ओलीले पार्टीभित्र गुटबन्दी सह्य नहुने पनि दोहोर्याए । उनले पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि आएको दानको जग्गा फिर्ता नहुने समेत प्रष्ट संकेत बैठकमा गरेका छन् ।
३ महिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै एमाले केन्द्रीय कमिटी बैठक मंगलबार समापन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।