२१ असार २०८३, आइतबार

सिन्धुपाल्चोकका मतदाताको पीडा : भोट माग्न आएका नेता धुलो खुवाएर जान्छन्

सिन्धुपाल्चोकका मतदाताको पीडा : भोट माग्न आएका नेता धुलो खुवाएर जान्छन्

सिन्धुपाल्चोक १ मंसिर– सिन्धुपाल्चोक सदरमुकाम चौतारा भन्दा केही माथिको गाउँ गौरतीमा बिहीवार एक स्थानीयकोमा बर्खि पूजा चल्दै थियो । बर्खि पूजाका लागि पानीको जोरजम गर्न महिलाहरुलाई हम्मे परिरहेको थियो । पानी ओसार्दा हैरान उनीहरु नेताहरुलाई भोट नहाल्ने भन्दै आक्रोश पोखिरहेका थिए । 

गौरती भिमसेन मन्दिर नजीकै बिहानको घाम ताप्न भेला भएका सर्वसाधारणहरु चुनावी गफ गर्दै थिए । स्थानीय रामबहादुर श्रेष्ठ खुट्टो खोच्चाउँदै अरुहरु भएको ठाउँतिर आए । ‘बाटो राम्रो खनिदिएको भए हामीहरु यसरी हिँड्दा लडेर खुट्टा खोच्चाउँदै आउनु पर्ने थिएन नि !’ राजनीतिक दलका नेताहरुप्रति आक्रोश व्यक्त गर्दै उनले भने, ‘नेताहरु चुनावको बेलामात्र गाडीमा झण्डा हल्लाउँदै भोट माग्न आउँछन्, जनतालाई सडकको धुलो चखाएर जान्छन ।’

चुनावको समयमा भोट माग्न आउने तर चुनावपछि निर्वाचन क्षेत्र नफर्किएको भन्दै राजनीतिक दलका नेतासँग स्थानीयवासी आक्रोशित छन् । ‘चुनावको बेला विकास गर्छौं भनेर झुठो आश्वासन बाँडेर गए, त्यसपछि नेताहरुको मुख देखिएन,’ स्थानीय नीलध्वज खत्रीले भने, ‘हाम्रो गाउँमा खानेपानीको समस्या छ, कसैले पनि समाधान गरेनन् ।’ कुनै दल पनि पत्यारिला नभएको उनको आरोप छ । 

सदरमुकाम चौतारा नजिकै भए पनि भूकम्प पीडितहरुले दोस्रो किस्ताको रकम समेत पाएका छैनन् । अधिकांश नागरिक टिनको टहरामुनी रात गुजारीरहेका छन् । गौरती गाउँमा एक परिवारका तीन आमाछोरी बिहीवार बिहान घर बनाउनका लागि बालुवा चाल्दै थिए । ‘खै सरकारको मुख हेर्दा यस जुनिमा घर बन्ला जस्तो लागेन, अब आफैंले जस्तो सकिन्छ बनाउने,’ ती महिला भन्दै थिइन् । 

स्थानीय रामबहादुर तामाङ गौरती महादेवको मन्दिर छेवैमा सामान्य होटल सञ्चाल गर्दै आएका छन् । तर उनलाई दश दिनपछि हुँदै गरेको चुनावको पत्तो छैन । ‘अहिलेसम्म कोही पनि भोट माग्न आएको छैन्, भोट हाल्ने अधिकार त छाड्दैँनौ, तर भोट हाल्ने जस्तो दल पाएका छैनौं,’ उनले गुनासो गरे ।
  
चुनावको समयमा गरिएका प्रतिबद्धता पूरा नभएकोमा स्थानीयवासीहरु राजनीतिक दलहरुप्रति आक्रोशित छन् । ‘दैनिक दुःख सुख त हामीहरुसंगै थियो, तर सरकारले हाम्रो गाउँमा खानेपानीको व्यबस्था समेत गरेन,’ स्थानीय भुपेन्द्र राउतले भने । तामाङ बाहुल्य रहेको यो गाउँमा निर्वाचन आयोग, राजनीतिक दल र कुनै संघसंस्थाले मतदाता शिक्षाको कार्यक्रम सञ्चालन नगरेको स्थानीय युवा आकाश तामाङले बताए । उनका अनुसार अधिकांश महिलालाई कहाँ कति ठाउँमा भोट हाल्ने भन्ने ज्ञान समेत छैन् । 

‘यहाँका धेरै महिलालाई कति ठाउँमा कति भोट हाल्ने भन्ने थाहा छैन्,’ स्थानीय चिरीमाया तामाङले भनिन्, ‘न कोही भोट माग्न आएको छ, न कसैले भोट हाल्न सिकाएको छ ।’ उनले नेताहरुप्रति पटक्कै विश्वास नभएको बताइन् । 

जुगल हिमाल प्रष्ट देखिने यो ठाउँमा तत्कालिन राजा वीरेन्द्रले २०५३ सालमा गौरती मन्दिरको उद्घाटन गरेका थिए । राजादेखि नेतासम्म पुगेको यो ठाउँमा खानेपानीको समस्या भने ज्युँका त्युँ छ । 

‘पानीको ट्याङकी बनेको छ, पानीको मुहान पनि छ, तर वर्षौं भयो चर्चा भएको खानेपानी आएको छैन,’ डुप छिरिङ तामाङले भने । 

यो क्षेत्रबाट विगतमा माओवादी केन्द्रका अग्नी सापकोटा विजयी भएका थिए । यस क्षेत्रमा अहिले वामपन्थी गठबन्धनको तर्फबाट एमालेका शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिका अध्यक्ष पशुपति शमशेर राणा प्रतिनिधि सभाको लागि उम्मेदवार छन् । 

राणाले सिन्धुपाल्चोकमा विकासको मूल फुटाउने भन्दै चुनाव प्रचार गरिरहेका छन् भने तामाङले आफूले शुरु गरेको विकासको गतिलाई तीब्रता दिने बताउँदै आएका छन् । ‘त्यो क्षेत्रबाट भर्खर म उम्मेदवार बनेको छु, पुरानो २ नम्बर क्षेत्र भएकोले त्यहाँका जनताको गुनासो सम्वोधन गर्नेछु,’ निवर्तमान सांसद समेत रहेका उम्मेदवार तामाङले भने । 

विमल गौतम र सुशील पन्तकाे स्थलगत रिपोर्ट 

salt training

कमेन्ट गर्नुहोस्