
संसदीय प्रणालीमा एउटा मान्यता चर्चित छ- ‘सरकार सत्तापक्षको, सदन प्रतिपक्षको छ ।’ त्यसैले पनि होला सदनमा सबैभन्दा चर्को आवाज प्रतिपक्षकै सुनिन्छ । सहमति र असहमतिको तालीमा चर्को, ‘ढ्यापढ्यापे’मा विरोधको स्वर प्रतिपक्षकै हुन्छ । प्रतिपक्षको यो विरोधले सत्ता पक्षलाई खबरदारी गर्छ ।
तर, कमै सांसद हुन्छन् जसले आफ्नै दल सरकारमा रहँदा प्रश्न उठाउँछन् । यीनैमध्येकी एक हुन् गण्डकी प्रदेश सभाकी सांसद दमयन्ती रुचाल । रोष्ट्रममा उभिएर होस् वा शून्य समयमा, उनी सरकारलाई निरन्तर प्रश्न उठाइरहन्छिन् । माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी रुचालको प्रश्न आफ्नै दल सरकारमा रहँदा पनि रोकिँदैन ।
सदनमा खरो उभिएकी सांसद रुचालको राजनीतिक जीवन सानै उमेरमा शुरू भयो । सानैदेखि भोग्नुपरेको सामाजिक संरचनात्मक विभेदले उनको कलिलो दिमागमा प्रश्न उब्जाएको थियो । बाबा भारतीय आर्मी । बालापनको केही समय उतै बित्यो । ९ वर्षको उमेर बाबासँगै गाउँ नवलपरासी फर्किएकी उनले नेपाली समाजमा जरा गाडेको विभेद भोग्दै हुर्किइन् । शुरूआतमा पानी पिउँदा हातमा थापेर खाँदा उनलाई रमाइलो लाग्थ्यो । साथीको घरमा जाँदा आफूले खाएको भाडा माझेर छुट्टै घोप्टो राख्दा अनौठो लाग्थ्यो ।
‘आर्मी क्याम्पको सुविधामा बसेको यहाँ नवलपरासी एकदम ग्रामीण ठाउँ । यहाँ आइसकेपछि पानी दिँदा हात थापेर खाऊ भन्थे । साथीहरूकोमा खाना खाजा पाएपछि भाँडा घोप्टो बनाए राख भन्थे । शुरूमा त रमाइलो नै लाग्यो । पछि ६, ७ कक्षामा पढ्ने भएपछि त्यो चिजले बाल मानसिकतामा असर पर्यो’, रुचालले सुनाइन् ।
समाजको विभेदले उनको बाल मानसिकतामा प्रश्न उब्जायो । त्यसलाई उनले विद्रोहमा रूपान्तरण गरिन् । प्रश्नको उत्तरमा भौतारीरहेकी रुचालको भेट तत्कालीन सरकारविरुद्ध युद्धमा उत्रिएकासँग भयो ।
‘जनयुद्ध हाम्रै न्यायको लागि रहेछ । दलित, महिलाको न्यायको लागि रहेछ । जनजातिको लागि रहेछ । अन्यायमा परेका सबैका लागि रहेछ भन्ने भयो । प्रशिक्षणबाट एकदमै प्रभावित भएँ’, आफू माओवादीमा आबद्ध हुनुको कारणबारे रुचाल भन्छिन् ।
२०५५ सालमा माओवादीको सम्पर्कमा आएकी रुचाललाई उसको सिद्धान्तले तान्यो । शुरूआतमा लुकेर सहयोग गरिन् । बाल मानसिकताले प्रश्न खोजेको उत्तर पाइन् । एक वर्षपछि पार्टीमा नै प्रतिबद्ध भएर लागिन् । २०५६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन टोल इकाइको अध्यक्ष भएर काम गरिन् । संकटकालपछि परिस्थिति जटिल हुँदै गयो । जटिल परिस्थितिमा कठिन निर्णय गरिन् । १८ वर्षको उमेरमा घर छाडेर ‘जनयुद्ध’मा होमिइन् ।
भूमिगत जीवन र जनवादी विवाह
घरकी एक्ली छोरी । परिवारले विचार रुचाएका । छोरीको लडाईं बुझेका । तर, छोरीको चिन्ता उस्तै । आमाको प्रतिरोध थियो, घर छोडेर हिँड्ने विषयमा । तर, समाज र व्यवस्था परिवर्तनमा हिँडेको युवा जोश रोकिएन । घरबाट भागिन् ।

२०५९ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारी नवलपरासी जिल्ला अध्यक्ष भइन् । उनीसँगै १४ वर्षीया साथी पनि घर छोडेर जनयुद्धमा होमिएकी थिइन् । कावासोती क्षेत्रमा उनको कार्यक्षेत्र थियो । जनयुद्धमा भूमिगत भएको समयमा कयौंपटक मृत्युलाई जितेर बाँचेकी छिन् ।
सुराकीको आधारमा तत्कालीन शाही सेनाले एकपटक उनको टोलीले खानाको खाएको घरमा छापा हान्यो । खाना खुवाउनेलाई कुटपिट गरेर फर्कियो । सेना फर्किएको केही छिनमै उनको टोली त्यहाँ पुग्यो । कुटाइ खाने व्यक्तिले रुँदै घटना बताएपछि उनीहरू तुरुन्तै त्यहाँबाट अन्यत्र लागे ।
२०६२ सालमा आन्दोलन उत्कर्षमा थियो । त्यसबेला उनको कार्यक्षेत्र चितवनमा थियो । उनीसँगै एकजना साइकलमा बाहिर निस्किएका थिए ।सेना रेखीमा निस्किएको थियो । उनीसँगै गएकी अर्की साथीले मेसो पाएर लुक्ने छेको पारिन् । तर, उनी सरासर अगाडि नै पुगिन् ।
‘म सिधै अगाडि पुगेँ । तर, म कस्तो संयम भएँ भने सरासर साइकल चलाएर कसैलाई नहेरीकन त्यहीँ गाउँको केटी जस्तो भएर हिँडें । उनीहरूको यति लामो लाइन थियो कुरै छोडौं। मरे मरिन्छ भनेर छिटो छिटो अगाडि बढेँ। पछि आफैं दंग परे’, रुचाल भन्छिन् ।
एकपटक आर्मी उनकै टोलीलाई खोज्दै नवलपरासीको पहाड गाउँमा आइपुगेका थिए । बीचमा भेटिएका भरियाले खबर गरेपछि उनीहरूको टोली तत्काल जंगलतिर लुक्न पुगे । आफ्नो ज्यान बचाउँदै हिँडेका यस्ता कयौं अनुभव छन् उनीसँग । पहिलो जीवनसाथी जनयुद्धमा नै गुमाउनुपर्यो । २०६० सालमा वैवाहिक जीवनमा बाँधिएकी उनको पहिलो श्रीमान् २०६२ सालमा चितवनमा ‘सहिद’ भए ।
‘उहाँलाई घेरा हालेर मारिएको थियो । रहस्यमय जस्तो पनि लाग्छ । लाश भेटिएन । चितवनको यज्ञपूरी चोकमा उहाँहरूलाई लखेटेर घेरा हालेर गोली हानी मारेको भन्ने कुरा छ । उहाँहरूको मारिएको सूचना निकाल्यो । त्यसले बेपत्ता भन्न मिलेन तर, लास नभेटाएइकाले हाम्रो लागि बेपत्ता सरह भयो’, उनी भन्छिन् ।
जनयुद्धदेखि सदनसम्म
शान्ति प्रक्रिया शुरू भएपछि उनको पुनर्विवाह भयो । नयाँ जीवन शुरूआत गरिन् । आमा बनिन् । बच्चाको जिम्मेवारीसँगै पार्टीमा पूर्णकालीन रूपमा काम गरिरहेकी थिइन् । २०७० सालसम्म सक्रिय भएर काम गरिन् । पछि, पार्टीभित्रको आन्तरिक समस्याले नयाँ बाटो देखायो । काखमा हुर्किएकी छोरीको पढाई खर्च बढ्दै गयो । अनि, उनले आर्थिक रूपमा सबल बन्ने बाटो खोजिन् ।

पार्टीले सामान्य व्यवस्थापन गर्ने जिम्मा लिन नसकेपछि जीविकोपार्जनका लागि उनले ब्युटिसियन तालिम लिइन् । स्वरोजगार बनिन् । व्यवसायसँगै पार्टीमा आबद्ध थिइन् नै । २०७८ सालसम्म आइपुग्दा उनले परिवर्तन पाइनन् । अझैपनि महिलालाई प्रत्यक्ष निर्वाचनमा पत्याइएन । जुन व्यवस्थाविरुद्ध लड्न जनयुद्धमा होमिएकी थिइन्, त्यो करिब करिब उस्तै थियो । यसले उनलाई सदनसम्म डोर्यायो । त्यसैले सदनमा प्रश्न गर्छिन् , ‘हामी मन्त्री किन बन्न सक्दैनौं ?’
सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएपछि ९ सदस्यीय मन्त्रिमण्डल बन्यो । जसमा एक जना पनि दलित समावेश थिएनन्।
‘गण्डकी प्रदेश सरकारले नौ सदस्यीय मन्त्री मण्डल गठन गर्दै गर्दा एक जना पनि दलित समावेश नगर्नुले यो व्यवस्था संघीय समानुपातिक समावेशी गणतन्त्र होइन कि एकात्मक राजतन्त्रको अनुभूति भएको छ । एक जना मात्र महिलालाई मात्र मन्त्री बनाएर कर्मकाण्डी मिलाइएको देखिन्छ । असमावेशी मन्त्री मण्डलप्रति घोर आपत्ति व्यक्त गर्दछु’, उनले सदनमा भनेकी थिइन् ।
सदनमा बोल्दा विषय बाँडिन्छ । तरपनि उनले उठाउनुपर्ने विषय समेट्ने प्रयास गर्छिन् । कृषिको विषयलाई रोष्ट्रममा बढी समय दिन्छिन् । सबै क्षेत्रमा समान प्रतिनिधित्व उनको प्राथमिकतामा पर्छ । आफू यसका लागि निरन्तर संघर्ष गर्ने बताउँछिन् । उनले सदनमा समानुपातिक सांसदलाई भइरहेको विभेदको विषयमा पनि बोल्छिन् । सदनमा अदालत नै जाने आक्रोश व्यक्त गरेकी थिइन् बजेटको विषयमा उनले ।
‘यो निरन्तर संघर्ष गर्ने हो । एकजना महिलालाई क्याबिनेटमा लगेछ । सीमान्तकृतको त कुरै नगर्नु, दलित महिला छैन । पुरुष दलित र महिला दलित कुनै पनि छैन । त्यसैले निरन्तर लडाईंको विषय छ’, उनले भनिनन् ।
सदनमा प्रश्न उठाउने स्वभावले खरो सांसदको रूपमा चिनिन्छिन् उनी । यसरी आवाज उठाउँदा कहिले कसो घुमाउरो पारामा घोचपेच हुन्छ । त्यहाँ पनि पुरुषवाद हाबी भएको अनुभव रहेको सुनाउँछिन्, उनी । तर, आफूले प्रश्न उठाउन नछाड्ने उनको अठोट छ ।