
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भन्सार विन्दुमा भारतीय सवारीसाधनको सामान ‘लोडअनलोड’ गर्ने तथा तौलपुलमा तौल लिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भारतीय ट्रकको अत्याधिक भारका कारण नवलपरासी सुस्तापूर्वको दुम्किबासमा पुल भाँचिएकाले सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयलाई तत्काल भारतीय मालबाहक सवारीसाधनको तौल लिने व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसरी दैनिक रूपमा भारतीय मालबाहक सवारीसाधनलाई निर्विवाद ७२ घण्टे सुविधामा सञ्चालन गर्न दिने कार्य भएको जनाउँदै आगामी दिनमा पनि यस्तै अवस्था रहे महासङ्घले समस्या हुने भएकाले यथाशीघ्र माग सुनुवाइ गर्न आग्रह गरे ।
महासङ्घको विज्ञप्तिमा भनिएको छ, “भारतीय सवारीसाधनलाई तौलपुलमा तौल नगराउँदा पुल भाँचिने घटना घट्ने भएकाले सरकारले सरोकार भएका निकायसहितको सहभागितामा तत्काल तौलपुल सञ्चालनका लागि कार्यदल बनाइ कार्यविधि बनाउन पनि यसै प्रेस विज्ञप्तिमार्फत माग गर्दछौँ ।”
देशभरी सार्वजनिक यातायात सञ्चालन गर्ने सङ्घ/समिति/कम्पनी/प्रालिहरूको छाता सङ्गठन विगत २०३६ सालदेखि क्रियाशील रहेको छ । हाल देशभर करिब तीन लाख ४० हजार यात्रुबाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।